जसपा विवाद : चार सांसदले छोडे महन्थको साथ

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने/नदिने भन्ने विषयमा विवादमा रहेको जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक समीकरण सर्वोच्चको फैसला आएसँगै फेरबदल हुने भएको छ ।

यसअघि संसदीय दलमा २० जना सांसदको साथ रहेको भनिएको अध्यक्ष महन्थ ठाकुर पक्षबाट विद्रोह गरी चार सांसद अर्का अध्यक्ष उपेन्द्र यादव समूहको पक्षमा लागेका छन् ।

यसरी विद्रोह गर्नेमा सांसदहरू प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल रहेका छन् । उनीहरु शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन् । शुक्रबार ठाकुर पक्षले पार्टी कार्यालयमै राखेको छलफलमा उनीहरु चारै जना अनुपस्थित भएका थिए ।

यससँगै ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६–१६ भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ । केपी ओली नेतृत्वको सरकार ढलेसँगै जसपा महन्थ ठाकुर पक्षमा त्यसको ‘साइडइफेक्ट’ देखिन थालेको हो । यसैगरी ठाकुर पक्षकै सांसदहरु रुही नाज, रामदुलारी खतवनीलगायत पनि यादव पक्षमा लाग्ने स्रोतको भनाइ छ ।

पार्टी, मधेश आन्दोलन र मुद्दाप्रति समर्पितलाई पार्टीमा किनारा लगाई ठाकुर र राजेन्द्र महतोहरूले आफू निकटलाई अगाडि बढाउन खोजेको उनीहरुको गुनासो छ । ओली नेतृत्वको सरकारमा सहभागी हुँदादेखि नै असन्तुष्ट उनीहरु पछिल्लो समय खुलेरै नयाँ समूह निर्माणमा होमिएका हुन् ।

शनिबार, ०२ साउन, २०७८, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर