एमाले ओलीपक्षको निर्णय : वार्ता समिति विघटन, सर्वोच्चको आदेश अस्वीकार

काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहिष्कारकाबीच आज बसेको नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टीभित्रको विवाद समाधानका लागि यसअघि गठित कार्यदल विघटन गरेको छ ।

यसअघि सोही कार्यदलले पार्टी एकताका लागि भन्दै १० बुँदे प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई अनुमोदन गर्दै ओलीपक्षले एकलौटी रुपमा कार्यदल विघटन गर्ने निर्णय गरेको हो । उक्त कार्यदल पार्टी एकता जोगाउन भन्दै गत जेठ २ गते निर्माण गरिएको थियो ।

यस्तै एमाले बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन समेत दिएको छ । बैठकले ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ ।

एमाले बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको दाबी पनि गरेको छ । सर्वोच्च अदालतको फैसलाई अस्वीकार गर्ने निर्णय गरेको एमालेले अदालतको फैसलालाई संविधान संशोधन हुने गरि आएको दाबी पनि गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसेको हो । सो बैठक सुरु हुनुअघि बैठकस्थलमा पुगेका माधव पक्षीय नेताहरुले भने १/२ दिन बैठक रोकेर सहमति खोज्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । उक्त आग्रहलाई अस्वीकार गर्दै ओलीले एकलौटी बैठक राखेका हुन् ।

शुक्रबार, ०१ साउन, २०७८, दिउँसोको ०२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर