विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
सर्बोच्च अदालतको आदेश अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्बोच्चले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकोमा राष्ट्रपतिले नियुक्त गर्दै ६ बजे सपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सर्वोच्चको आदेशसँगै यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवालाई पाँचौं पटक मुलुकको प्रधानमन्त्री बन्न बाटो खुलेको हो । शपथ लगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा छन् ।
देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपनि राष्ट्रपति भण्डारीले यसअघि उनको दावी अस्वीकार गर्दै प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध रिट दायर भएको थियो । राष्ट्रपतिको उक्त निर्णय असंवैधानिक, स्वेच्छाचारी र अलोकतान्त्रिक भएको भन्दै सर्बोच्चले बदर गरिदिएको छ ।
राष्ट्रपतिको निर्णय विरुद्ध नेकपा एमालेका २३ सहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । साथै सर्वोच्चले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसलासमेत सुनाएको छ।