विराटनगर । श्रीमतीको ‘किचकिच’ सहन नसकेपछि मोरङको बेलबारी नगरपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । बेलबारी नगरपालिका–७ दैलतपुरका ४८ वर्षीया सीता घिमिरेको हत्या आरोपमा पति ५४ वर्षीय अम्बिका घिमिरे पक्राउ परेपछि यस्तो रहस्य बाहिर आएको हो ।
अम्बिकाले श्रीमतीको किचकिच सहन नसकेपछि मदिराको नशामा लठिएर श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुलेको छ । अम्बिका दैनिक जसो मदिरा सेवन गरेर घर जाने गरेका थिए । मदिरा सेवन गरेपछि उनकी श्रीमती सीताले गालीगलौज गर्ने गर्र्थिन् । त्यही ‘किचकिच’ सहन नसकेपछि योजनाबद्ध ढंगले हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।
मस्त निद्रामा रहेकी सीताको यसरी भयो हत्या
दैनिक जसो मदिरा सेवन गर्ने अम्बिकाले शुक्रबार साँझ नजिकका भट्टी पसलमा गएर मदिरा पिउँछन् । रात परेपछि घर जान्छन् । ‘आज पनि मदिरा पिएर आको भन्दै सीताले अम्बिकालाई गाली गर्छन् । केही नभनी उनी सुत्छन् र शनिबार विहान २ बजे अम्बिकाको निद्रा खुल्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘गोठमा राखेको मुङग्रो अम्बिकाले लिएर आउँछन् र मस्त निद्रामा रहेकी श्रीमतीको कन्चटमा पाँच पटक प्रहार गरी हत्या गरेको बयानको क्रममा अम्बिकाले स्वीकार गरेका छन् ।’ अम्बिकाले काठको मुङग्रोले देब्रे कञ्चटमा पटक–पटक प्रहार गरेर शनिबार बिहानका राति २ः३० बजेतिर ओछ्यानमा सुतिरहेकी श्रीमतीको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
श्रीमतीको हत्या गरेपछि छिमेकीको गोठमा
श्रीमतीको हत्या गरेपछि अम्बिका घरबाट निस्किएर छिमेकीको गोठमा पुगेको थिए । सीतालाई बिहान ५ बजेतिर बुहारीले ओछ्यानमा मृत फेला पारेकी हुन् । तत्काल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले देब्रे कञ्चट फुटेर सिरानी र ब्ल्याङ्केटमा रगत लागेको तथा ओछ्यानमा घोप्टो परेको अवस्थामा सीताको शव फेला पारेको थियो ।
सिरानीमुनि कपालसमेत लागेको मुङ्ग्रो फेला परेको प्रहरीले बताएको छ । अम्बिकाले सुतेको ओछ्यानबाट ब्युँझिन नपाउँदै देब्रे कञ्चटमा चार–पाँच पटक मुङ्ग्रोले प्रहार गरेर श्रीमती सीताको हत्या गरेको खुलेको डिएसपी मुकारुङले बताए । प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर शुक्रबार साँझ घर फर्किएका अम्बिकाको श्रीमतीसँग विवाद भएको पाइएको छ । त्यही रिसइबी साँधेर बसेका उनले बिहानका राति ओछ्यानमै श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धान गरिरहेको इन्सपेक्टर खनाल नेतृत्वको टोलीले शव पोस्टमार्टमका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर श्रीमतीको हत्यापछि फरार बनेका अम्बिकालाई गाउँबाटै पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।


