विराटनगर । आकाश धुम्मिन थालेपछि उनीहरुको मन पनि धुम्मिन थाल्छ । जब बादलले आकाशमा गतिविधि सुरु गर्छ यहाँ उनीहरुको मन पनि बेचैनीले त्रस्त हुन्छ । हरेक बर्खामा बाढी प्रताडित सर्वसाधारण यही नियति झेलिरहेका छन् ।
विराटनगर हुँदै बग्ने विभिन्न नदीनाला तटीय क्षेत्रमा बस्ने सुकुम्बासी र दक्षिणी भेगका अधिकांश स्थानीय बासिन्दा यसवर्षको बाढीमा पनि प्रताडित भएका छन् । विराटनगर भएर बग्ने पुर्वमा सिंघिया र पश्चिममा केशलियाको जलस्तर उच्च भएसँगै प्रत्येक वर्ष उनीहरु डुबानमा पर्ने गरेका छन् । बाढीले बगाउन सक्ने डर हाल उनीहरुको दैनिकी बनेको छ । उनीहरुको मनमा एउटै गुनासो छ, ‘सरकारले उद्दार गर्ने र राहत दिने बाहेक अरु केही गरिदिएन ।’
विराटनगरमा १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ सहित १३ वटा वडाका ५ हजार ७ सय ७५ बढी स्थानीय बासिन्दा बाढीको उच्च जोखिममा छन् । वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा महानगरपालिकाद्धारा तयार तथ्याङकले पनि यही देखाउँछ । भुकम्प बाहेक १२ प्रकारका प्राकृतिक प्रकोपमध्ये सबैभन्दा बढी क्षति पुर्याउने बाढी तथा डुबान यहाँका स्थानीयका लागि बार्षिक कार्यक्रम नै बनेको छ ।
विपद व्यवस्थापनका निम्त्ति विनियोजन हुने वार्षिक बजेट सही ठाउँमा खर्च हुन नसक्दा स्थानीयको समस्या हालसम्म विचाराधिन छ । खोला किनारमा तटबन्ध निर्माण गर्नु नै बाढी रोकथाम र त्यसबाट हुने क्षति न्युनीकरणको एकमात्र विकल्प भएपनि स्थानीयदेखि प्रदेश सरकारको अग्रसरताको अभावमा समस्याको दीर्घकालीन समाधान हुन नसकेको वडा नं. २ निवासी जगदीश कामतको गुनासो छ । ‘सरकारको लापरबाहीका कारण हामी वर्षेनि प्रताडित हुनुपरेको छ,’ उनले भने, ‘सरकारका कार्यशैलीप्रति हामी असन्तुष्ट छौं । हामीलाई सम्झिने भनेको भोट माग्ने बेलामा मात्रै हो ।’
४ बर्षअघि पनि २०७४ साउन २८ गते विराटनगर लगायत पुर्वीक्षेत्रमा निरन्तर परेको अविरल वर्षाका कारण आएको बाढीले मोरङका अधिकांश स्थानीय तह नराम्ररी प्रभावित भएका थिए । १७ स्थानीय तहमध्ये सबैभन्दा बढी प्रदेश १ को राजधानी समेत रहेको विराटनगरमा महानगरपालिकाले सर्वाधिक क्षति व्यहोरेको थियो । बाढीका कारण २० जनाभन्दा बढीले ज्यान समेत गुमाएका थिए ।
अविरल बर्षाका कारण पानीको जलस्तर उच्च भएसँगै बर्षेनि सबैभन्दा बढी पुर्वमा सिंघिया र पश्चिममा केशलिया खोला तटीय क्षेत्रमा बस्ने स्थानीय तथा सुकुम्बासी जनताहरु बाढीको चपेटमा पर्ने गरेका छन । उनीहरुको व्यवस्थापनका लागी विराटनगर महानगरपालिकाले जोखिममा रहेका घर तथा बस्तीहरुलाई स्थानान्तरण गर्ने र जनता आवास योजना अन्तर्गत उनीहरुलाई जोखिममुक्त ठाउँमा बसोबासको व्यवस्था मिलाउने लगायतका नितिगत कार्यक्रमहरु अघि सारेको भएपनि ठोस पहल भने हालसम्म हुन नसकेको स्थानीयको गुनासो छ । बाढीबाट हुने क्षति न्युनीकरणका लागि जोखिमग्रस्त क्षेत्रहरुमा तटबन्ध निर्माण गरिनु नै एकमात्र विकल्प भएको विराटनगर–२ का स्थानीय हरिबल्लभ कामतले बताए । ‘जोखिमयुक्त क्षेत्रहरुमा तटबन्ध लगाउनुपर्छ,’ उनले भने, ‘हामीले हेर्दै आएका छौं । एकतिर मात्र तटबन्ध गरेर छोडिदिन्छन । त्यसरी हुँदैन । खोलाको दुवै किनारमा तटबन्ध गरिनुपर्छ ।’
यसअघि पनि गतवर्ष विराटनगरको पश्चिम भएर बग्ने केशलिया खोलाले धार परिवर्तन गर्दा विराटनगरको दक्षिणी भेग डुबानमा परेको थियो । विराटनगर–६ डम्पिङ साईडको उत्तरबाट नदीले धार परिवर्तन गर्दा वडा नं. ११ , १२ , १६ र १५ का स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएका थिए । यसपटक पनि शनिबार सिंंघिया र केशलिया खोलामा आएको बाढीले विराटनगरका विभिन्न भाग डुबानमा परेका छन् । केशलिया खोलाले धार परिवर्तन गर्दा यसपटक वडा नं. ५ स्थित जामुनगाछी, वडा नं. ६ स्थित ब्रम्हपुरा, वडा नं. १२ स्थित बखरी र वडा नं. १६ को दरैया डुबानमा परेको छ । यस्तै सिंघिया खोलाको उच्च जलस्तरका कारण वडा नं. १, २, ७ र ८ का विभिन्न भाग डुबानमा परेका छन् ।
प्रशासनको आँखा छलेर खोलामा हुने अवैध उत्खनन्का कारण खोलाले धार परिवर्तन गर्दै आएको बाढी पिडितहरुको भनाई छ । खोलानाला तथा बाढी नियन्त्रणमा महानगर सक्रिय भएपनि महानगरको एक्लो बजेटले यसको दिगो समाधान सम्भव नभएको महानगरका विपद व्यवस्थापन प्रमुख राजेन्द्र प्रधान बताउँछन् ।
‘यसपटक पनि बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक श्रोत र साधनसहित नगरप्रहरी उद्धार कार्यका सक्रिय छ,’ उनले भने, ‘तर यसले मात्रै समस्याको दिगो समाधान सम्भव छैन् । प्रदेश सरकारको सहयोग पनि आवश्यक छ ।’
यद्यपि विपद व्यवस्थापन ऐन जारी गरिसकेपछि विराटनगर महानगरपालिकाले ऐनमा निर्दिष्ट गरिएका विभिन्न योजनाहरुको आधारमा संकटासन्न क्षेत्र लक्षित उद्धार कार्य गरिरहेको छ । विपद व्यवस्थापन निति, विपद जोखिम न्यूनीकरण रणनितिक कार्ययोजना र विपद पुर्वतयारी तथा प्रतिकार्य योजनाको आधारमा नक्साङ्कन अनुसार जोखिम र क्षति न्युनीकरणमा महानगर सक्रिय रहेको जनाईएको छ । होचो भुभागका जनतालाई यथोचित बासस्थानको व्यवस्था मिलाउन र जनधनको सुरक्षा गर्न महानगरको टीम फिल्डमै रहेको महानगरका विपद व्यवस्थापन प्रमुख प्रधानको भनाई छ ।
तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभुति दिलाउन मोरङ प्रशासन पनि क्रियाशील रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनले स्थानीय तहको वडास्तरबाटै विपद व्यवस्थापन तथा रोकथामको निति अबलम्बन गरिएको जानकारी दिए । ‘हामीले विपद व्यवस्थापनका निम्त्ति खरिद गरि दुरुस्त अवस्थामा राखेका आवश्यक सामग्रीहरु प्रयोगमा ल्याएका छौंं,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा जनताको जनधनको रक्षाका निम्त्ति सुरक्षाको निकाय सक्रियताका साथ जुटिरहेको छ ।’
हाल भने आगामी ३ दिनसम्म देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका तराईका भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले खोलाहरुमा पानीको सतह उच्च हुनेसक्ने भन्दै महाशाखाले आवश्यक सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
बाढीपिडितलाई त्रिपालको सहारा
केही दिनयता जारी अविरल बर्षाका कारण शनिबार बिहान एक्कासी सिघिंया खोलाको जलस्तर बढेपछि छेउछाउका बासिन्दा विस्थापित भएका छन् ।
बाढीको पानी घरमै पसेपछि वडा नं. १ स्थित गंगाटोलका करिब १ सय बढी घरपरिवार विस्थापित भएका हुन् । शनिबार बिहान करिब ७ बजे जलस्तर उच्च भई खोलाको पानी स्थानीयको घरमा पसेको हो । हाल उनीहरु वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालयको दक्षिणपट्टिको खाली जग्गामा त्रिपालको अस्थायी संरचना बनाएर बसिरहेका छन् । घरमा पानी पसेपछि खाना पकाउने भाँडाकुडा र ओछ्यानबाहेक अरु केही जोगाउन नसकिएको स्थानीय अनिल पोद्दारले बताए । ‘पानी पस्छ भन्ने कल्पना गरेका थिएनौं,’ उनले भने, ‘पानी पसेपछि घरबाट थोरबहुत सामान बाहेक अरु केही निकाल्न सकैनौं । घर हुँदाहुँदै पनि घरबारविहिन भएका छौं ।’
वडा नं. १ स्थित गंगाटोलमा सहनी, मण्डल, पोद्दार, अमात र बंगाली समुदायको बसोबास छ । बाढीको पानी घरमा पसेपछि हाल उनीहरु बास र गाँसको समस्या झेल्न बाध्य छन् । शनिबार बेलुका भने ओसिम आलम नेतृत्वको खाना खुवाउने टीमले उनीहरुका लागि खाजाको व्यवस्था गरिदिएको छ ।









