विराटनगर । दुई दिनदेखिको लगातारजसो परेको वर्षाका कारण पूर्वी तराई क्षेत्र जलमग्न बनेको छ । रोपाईका लागि तयार पारिएको खेलमा डम्म पानी भरिएको छ भने खोला तथा खोल्सामा पानीको सतह बढेको छ । विराटनगर क्षेत्र पनि वर्षाका कारण जलमग्न बनेको छ ।
हाल मनसुनी वायुको देशभर सक्रिय प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन–यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विराटनगर १९ झापाबैजनाथपुरमा रोपाईका लागि तयार पारिएको खेतमा पानी जमे पछिको शुक्रबार साँझ खिचिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।





