विराटनगर । विराटनगर महानगरपालिकाभित्रको पिच सडकमा एकपछि अर्र्को ठूला–ठूला भ्वाङ पर्न थालेको छ । एशियाली विकास बैंकको सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालीत मझौला शहरको एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत निर्माण भएको सडकमा एकपछि अर्को गर्दै भ्वाङ पर्न थालेको हो ।
एक वर्ष पनि नपुग्दै कालोपत्रे भएको विराटनगर– ७ उच्च अदालत अगाडीको पिच सडकमा १८ दिनको फरकमा दुई वटा ठूला भ्वाङ परेको छ । जेठ २८ गते विराटनगर ७ गएली मार्गमा ठूलो भ्वाङ परेको थियो । अहिले सोही सडक अन्तर्गत उच्च अदालत अगाडि नर्सिङ क्याम्पसको छेउमा ७ फिट गहिरो भ्वाङ परेको विराटनगर ७ का स्थानीय प्रेम श्रेष्ठले बताए ।
‘सडक निर्माणको क्रममा ठेकेदार कम्पनीले राम्रोसँग रोलिङ नगरेको कारणले एकपछि अर्को गर्दै कालोपत्रे गरिएको सडकको बिचमा ठूलो भ्वाङ परेको हो’ उनले भने, ‘यसअघि पनि उच्च अदालतदेखि करिब ५० मिटर उत्तरमा मान्छे छिर्ने ठूलो भ्वाङ परेको थियो । सोही प्रकृतिको अहिले उच्च अदालत अगाडि पिच सडकमा भ्वाङ परेको छ ।’ यहाँका स्थानीयले ठेकेदार कम्पनीले लापरवाही पूर्ण तरिकाले सडक बनाएको कारण वर्ष दिन नपुग्दै पिच सडकमा भ्वाङ परेको आरोप लगाएका छन् ।
दुर्घटना भयो भने भ्वाङ परेको पिच सडकभित्र मान्छे सोझै मुनि छिर्ने रहेको छ । ‘कालोपत्रे भएको ७÷८ महिना भएको छ । वर्ष दिन पूरा नहुँदा बिच सडकमा भ्वाङ परेको छ’ उनले भने । भ्वाङ परेको पिच सडकमा अहिले ठेकेदार कम्पनीले एक ट्याक्टर मिक्स गिटी ल्याएर भ्वाङ टालटुल पारेको छ ।
दोश्रो चरणमा क्षेत्रीय शहरी विकास परियोजना (आरयुडिपी) अन्तर्गत सन् २०१७ नोभेम्बरमा यो परियोजना सुरू भएको थियो । परियोजनातर्फ फुटपाथ नालासहित ७५.२८ किलोमिटर पिच सडक निर्माण सम्पन्न भएको छ । अहिले हस्तान्तरणको चरणमा रहेको छ । सो परियोजना ३ अर्ब ६१ करोडको हो ।
परियोजना अन्तर्गतको ठेक्का आशिष निर्माण सेवाले लिएको छ । वर्ष दिन पनि नहुँदै पिच सडकको बिचमा भ्वाङ परेपछि स्थानीयले ठेकेदार कम्पनीले गुणस्तरहिन सडक बनाएको आरोप लगाएका छन् । एक वर्ष पनि नहँुदै पिच सडक भासिनु र भ्वाङ पर्नुले गुणस्तरहिन काम गरेको प्रमाणित हुने उनीहरुको भनाइ छ ।
यसअघि पनि विराटनगर १० तीनटोलीयास्थित पिपलचोकमा पनि एउटा टिपर चिल्लो सडकमा अचानक भासिएको थियो । कालोपत्रे गरिएको सडकमा गुडेको टिपरको पछाडिको दुवै चक्का सडकमा भासिएको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको हो । त्यस बखत निर्माण कम्पनी आशिष निर्माण सेवाले पुनः मर्मत गरेको थियो ।
प्राविधिक काम र त्यसको अनुगमनको पाटो दुरुस्त नभएकै कारण सडकमा गुडिरहेका गाडीहरु यसरी धमाधम भासिन र भ्वाङ पर्न थालेका दृष्यहरु देखिन थालेका छन् । सन् २०२२ फेब्ररी १२ तारिखसम्मा परियोजना अन्तर्गत निर्माण भएको सडक र नाला बिग्रिएको खण्डमा पुनःमर्मत निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ ।
क्षेत्रीय सहरी विकास परियोजना कार्यान्वय इकाइ विराटनगर महानगरपालिकाको प्रोजेक्ट म्यानेजर इन्जिनियर भरत न्यौपाने क्यान्ट्याक फेसमा रहेकोले कुनै पनि सडक भत्किए, उप्किए निर्माण कम्पनीले मर्मत सम्भार गर्नुपर्ने बताए । ‘अहिले वर्ष दिनको मर्मत सम्भार अवधि रहेको छ । त्यसबीचमा परियोजनाभित्रको कुनै पनि सडक बिग्रीए निर्माण कम्पनीले जिम्मा लिएर पुनः मर्मत सम्भार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
ढलको नाला लिकेज हुँदा भ्वाङ
उच्च अदालत अगाडिको पिच सडकको बिचमा भ्वाङ पर्नुको कारण जमिन मुनी रहेको ढल प्रणालीको नाला लिकेज भएको कारणले समस्या आएको प्राविधिकहरुले बताएका छन् । विराटनगर महानगरपालिकाभित्र परियोजना अन्र्गत ७५ किलोमिटर सडक पिच भइसकेको छ ।
पिच भएको विराटनगर ७ अदालत अगाडी बाहेकको सडकदेखि अन्य क्षेत्रमा समस्या अहिलेसम्म नदेखिएको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वय इकाइले जनाएको छ । ‘अदालत अगाडि सडकमा दलदले माटो रहेको थियो । निर्माण कम्पनीले मज्जाले रोलिङ्ग लागाएर ४० एमएमको कालोपत्रे सडक बनाएको हो,’ परियोजनाका व्यवस्थापक भरतकुमार न्यौपानेले भने, ‘ढल प्रणालीको नालामा समस्या आएको कारणले भ्वाङ परेको प्रराम्भिक जानकारी आएको छ ।’
आशिष निर्माण कम्पनीका ठेकेदार तथा प्राविधिक रोविन्द्र ठाकुर भने पिच सडकमा के कारणले भ्वाङ परेको हो भन्ने विषय बुझ्ने प्रयास गर्दा सम्पर्कमा आउन चाहेनन् ।

