माओवादी अवरोधपछि प्रदेश १ संसद् बैठक स्थगित

संसदमा अमर्यादित प्रस्तुति राख्ने मन्त्री गुरुङले माफी माग्नुपर्ने र उनको भनाई रेकर्डबाट हटाउनुपर्ने माग

विराटनगर । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ संसद्को सोमबारको बैठक अवरुद्ध पारेको छ ।

विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए ।

माओवादी केन्द्रले मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ । ‘मन्त्रीले रोष्ट्रमबाटै माफी मागेर उहाँको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहनेछ’, माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले भने ‘मन्त्रीले सदनमा जथाभावी बोल्न मिल्दैन ।’

मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाई टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौज गरेका थिए । मन्त्रीको भनाइप्रति असहमति जनाउँदै जनता समाजवादी दलका नेता जयराम यादवले तत्काल नियमापत्ति जनाएका थिए ।

सोमबारको बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए । त्यसक्रममा दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अवरुद्ध हुने भनेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगनको घोषणा गरेका छन् ।

सोमबार, १४ असार, २०७८, दिउँसोको ०१:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर