काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कर फर्छ्यौट आयोगका महानिर्देशक शर्मासहित पदाधिकारीले कानूनविपरीत १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र महानिर्देशक शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो । उनीहरुले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्याई बदनियतपूर्ण काम गरेको सप्रमाण पुष्टि भएको अख्तियारले बताएको छ ।
करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरेर १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ । अख्तियारले तत्कालिन कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र तत्कालिन आन्तरिक विभागका महानिर्देशक चुडामणि शर्मा ढकालको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको बताएको छ ।
उनीहरुविरुद्ध १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगो कायम गरी ८ देखि १० वर्षसम्म कैद सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ । सरकारले २०७१ सालमा गठन गरेको आयोगबाट उनीहरुले मनोमानी रुपमा कर छुट दिएको खुलेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।