विराटनगर । दलितहरुमाथि बर्वर अत्याचार गर्नेहरुलाई पक्राउ गरेर कानूनी कार्वाही गर्न प्रदेश १ का डेढ सय दलित अगुवाहरुले माग गरेका छन् ।
एक महिनाभित्र भोजपुर, झापा र मोरङमा दलितहरुमाथि भएको बर्बर अत्याचारको विरोध गर्दै उनीहरुले दोषीलाई पक्राउ गरेर कानूनी कार्वाही गर्न माग गरेका हुन् ।
प्रदेश १ का सांसद, पूर्वमन्त्री, पूर्वसांसद, संबिधानसभा सदस्य, जनप्रतिनिधि र अधिकारकर्मीसहित १५० जना अगुवाहरुले मोरङ, झापा र भोजपुरमा भर्खरै दलितहरुमाथि भएको अमानवीय घटनाको बिरोध गर्दै दोषीलाई कडा कार्वाही गर्न माग गरेका हुन् । दलितहरुमाथि भएको अमानवीय अत्याचारको विरोध गर्दै राष्ट्रिय सभाका पूर्वसांसद खेम नेपाली, संबिधानसभा सदस्य अनिता परियार, प्रदेश १ का पूर्वराज्यमन्त्री जसमायाँ गजमेर, प्रदेशसभा सदस्य उमिता बराईलीसहित अधिकारकर्मी र जनप्रतिनिधिले यस्तो माग गरेका हुन् ।
सबै दलित अगुवाहरुले छुवाछुतमुक्त राष्ट्रमा कानूनी रुपमा समाज विभेदमुक्त भएपनि व्यवहारिक रुपमा अझै दलितहरुमाथि अमानवीय अत्याचार भइरहनु बिधिको शासनको उल्लंघन र चरम दण्डहिनता भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । छुवाछुतमुक्त राष्ट्रमा दिनप्रतिदिन दलितहरुमाथि अत्याचार हुँदा पनि दोषीलाई कानूनी कार्वाही नभएको भन्दै आक्रोशित उनीहरुले अधिकारका लागि सशक्त सघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।
अगुवाहरुका अनुसार संबिधान र कानूनले दण्डनीय जघन्य अपराध घोषणा गरिसक्दा पनि अझै दलितहरुमाथि अन्तरजातीय विवाहका नाममा बिस्थापित हुनुपर्ने, ज्यान गुमाउनु पर्नेलगायतका कहालीलाग्दा घटनाहरु बढ्दो क्रममा रहेको छ । अझै पनि शारीरिक र मानसिक रुपमा अमानवीय व्यवहार भोगेका पीडित दलितहरुले न्याय माग्न जाँदा कानून कार्यान्वयन गर्ने निकायले कडा सजाय दिलाउनको साटो मेलमिलाप गराउने तथा जाहेरी दर्ता नगर्ने समस्या रहेको अगुवाहरुको भनाइ छ ।
मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीमा गत जेठ १ गते छिमेकीहरुले जातीय गालीगलौज गर्दै कुटपिट गर्दा तीन महिनाकी गर्भवती २५ वर्षीया शोभा दर्जीले मानसिक सन्तुलन गुमाएको भएपनि दोषीहरु पक्राउ परेका छैनन् । गरिब र निमुखा पीडितहरुलाई डरत्रास देखाउँदै प्रलोभनमा पारेर घटना मिलापत्र गराउने प्रयास भइरहेको छ ।
झापाको अर्जुनधारा ११ सालबारीमा २१ वर्षीया तुलसा विश्वकर्माले हल्दिबारी २ का बलराम कट्टेलसँग अन्तरजातीय विवाह गरेपछि अलपत्र हुनुपरेको छ । विवाह भएको एक वर्षपछि बच्चा जन्मिएर डेढ महिनाको भइसकेपछि केटा पक्षका आफन्तले तल्लो जातको भनेर उनलाई समाजिक बहिष्कार गरेका छन् भने श्रीमानले समेत छाडेर भागेका छन् । पीडित तुलसाले प्रहरी समक्ष ‘श्रीमान खोजी पाऊँ’ भनेर दिएको निवेदनको पनि सुनुवाई भएको छैन ।
उमेर नपुगेको बहानामा शारीरिक र मानसिक यातना दिएर प्रेमिकाबाट अलग गराएपछि भोजपुरको षडानन्द नगरपालिका १४ का युवा संगम ठटाल १४ जेठमा जंगलमा मृत फेला परेका थिए । स्थानीय वडाअध्यक्ष झम्कबहादुर रोक्काले विवाह कायम हुन नदिन उनकै निर्देशनमा केही स्थानीयहरु परिचालन गरेर संगमलाई कुटपिट तथा ज्यान मार्ने धम्कि दिँदै जातीय गालीगलौज गर्दै केटीलाई जबरजस्ती छुटाएर लगेका थिए ।
केटीलाई छुटाएर लगेको चार दिनपछि संगम जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आफन्तले जातीय विभेदकै कारण संगमको ज्यान गएको भन्दै वडाअध्यक्ष समेतलाई आत्महत्या दुरुत्साहन र जातीय भेदभाव छुवाछुत कसुर अनुसार किटानी जाहेरी दिएकोमा प्रहरीले दर्ता गर्न मानेको छैन ।

