पाँचथर । वैशाख २७ बाट जारी पाँचथरको निषेधाज्ञा असार १४ गतेसम्म थप भएको छ ।

सोमबार बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटि (डिसिसिएमसी) बैठकले छैटौं पटक निषेधाज्ञाको अवधि थपेको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार दुग्धजन्य पसल, खाद्यान्न पसल, तरकारी पसल र फलफूलका पसल, कृषि वस्तुहरूको ढुवानी सेवा समेत खुल्ने भएको छ । वित्तीय संस्थाहरू पनि नियमित रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि पूर्ण रुपमा खुल्ने छन् ।

होटल तथा रेस्टुरान्टहरु बन्द रहने छ्न् भने पार्टी प्यालेस, सपिङमल, मनोरञ्जनस्थल पार्क, सैलुन, ब्यूटीपार्लर, खेलकुद बन्द गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

स्वास्थ्य नियमको पालना गरी दश जनासम्म भेला भएर विवाह गर्न पाइने नियम लागू गरिएको छ । जिल्ला प्रवेश गर्ने र जिल्ला बाहिर जाने नागरिकले अनिवार्य रुपमा एनटिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको ढकालको भनाइ छ ।