विराटनगर । मोरङको कटहरी र जहदा गाउँपालिका जोड्ने सडक कटानमा परेपछि सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

बाटो भास्सिएर खोलाको डिलबाट यात्रा गर्दा एकातर्फ उनीहरुको ज्यान जोखिममा परेको छ । कटहरी गाउँपालिकाको पश्चिमी सिमाना आदर्शनगर हुँदै दक्षिणमा जहदा गाउँपालिकाको पोखरीयासम्म जाने ग्राभेल सडक सिंघीया खोलामा आएको बाढीले बगाएको निक्कै भयो । प्रत्येक बर्ष खोलामा आउने बाढीले यो सडक झनझन कटानमा पर्दै गएको छ । यसपटक सडकछेउमा रहेको नम्बरी जग्गा समेत कटानमा पर्ने जोखिममा छ ।

सबैभन्दा बढी राजवंशी समुदायको बसोबास रहेको कटहरी–२ स्थित बट्टु टोल नजिकै सय फिट बढी सडकखण्ड कटानमा परेको छ । उक्त ठाउँमा खोलाले सडकको ८० प्रतिशतभन्दा बढी भाग बगाएको छ । बाटो कटानमा परेर खाडलमा परिणत भएपछि सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । केही समय अघिसम्म दुईचक्के सवारीसाधन आवागमन गर्ने स्थिति थियो । तर बर्षायाम सुरु भएसँगै सडकको क्षतिग्रस्त भाग हिलाम्मे भएकाले साईकल लिएर पनि आवागमन गर्ने स्थित नरहेको स्थानीय कुशेस राजवंशीले बताए । ‘पहिले कम्तीमा साईकल र मोटरसाईकल त सजिलै जान्थ्यो,’ उनले भने, ‘तर हाल हिँडेर जान पनि अप्ठयारो छ । चिप्लेर खोलामै लडिन्छ कि भन्ने डर ।’

केही वर्षअघिसम्म दिनभरि बाक्लो आवागमन हुने गरेको उक्त सडकमा हाल सर्वसाधारणको उपस्थिति घट्दै गएको छ । रोजगारी, पठनपाठन र स्वास्थ्य उपचारका लागी विराटनगर धाउन सबैभन्दा छोटो पर्ने उक्त सडक हाल छेदविच्छेद अवस्थामा पुगेको छ । कटहरी र जहदा गाउँपालिकास्थित हाथीबन्धा, भाथीगज, बभनटोली, हरिनगरा, बुधनगर र लक्ष्मीनियाका सर्वसाधारण तथा विद्यार्थीले अध्ययन/अध्यापन, स्वास्थ्य उपचार र हाटबजारका लागि समेत सो बाटो प्रयोग गर्छन । तर खोलामा तटबन्ध निमार्ण गर्ने बिषयप्रति स्थानीय र प्रदेश सरकारको ध्यान नजाँदा बाटो प्रयोगकर्ताहरुको ज्यान समेत जोखिममा परेको छ । बट्टु टोल भएर खोलाको डिलबाट यात्रा गर्ने कतिपय सर्वसाधारण र दुईचक्के सवारीसाधनहरु पटकपटक दुर्घटनामा समेत पर्ने गरेको स्थानीयले बताएका छन् ।

त्यतिमात्र नभई बाटो भास्सिएका कारण चारचक्के सवारी चालकहरुले स्थानीयको नम्बरी जग्गाबाट गाडी लैजानुपर्ने भएकाले उनीहरुले जग्गाधनीलाई ५० देखि १ सय रुँपैयासम्म शुल्क समेत तिर्नुपरेको स्थानीय मुकेश राजवंशी बताउँछन् । ‘चारचक्के सवारीसाधनलाई पैसा तिर्नुपर्छ,’ उनले भने, ‘जसको जग्गा हो उसले पैसा उठाउँछ । उसको जग्गाबाट सवारीसाधनको आवागमन हुने भएकाले अन्नबाली लगाउन पाईन भन्दै पैसा लिन्छ ।’

खोलाले कटान गरेको उक्त क्षेत्रमा बोल्डर हालेर तटबन्ध निमार्णको कार्य गरिएको भएपनि त्यो अपर्याप्त रहेको स्थानीयले बताएका छन । सरकारी बजेट हालेर खोला किनारमा तटबन्ध निमार्णको कार्य गरिएको भएपनि त्यो जनताको आँखामा छारो हाल्ने काम मात्र भएको उनीहरुको आरोप छ । करिब ६५ लाखको लागतमा तटबन्ध निमार्णको कार्य भएपनि, तटबन्ध भने खोलाको सतहदेखि करिब ८ फिट उचाईसम्म मात्र निमार्ण गरिएको स्थानीय भगत राजवंशीको भनाई छ । ‘काम सकियो भन्छन, खोई त तटबन्ध पनि खोला मुनिसम्म मात्र देख्छु त’ उनले भने ।

गाउँपालिकाको बजेटले नदी नियन्त्रण सम्भव नभएकाले कटहरी गाउँपालिकाले पनि विगत लामो समयदेखि संघीय र प्रदेश सरकारसँग बजेट माग गर्दै आएको छ । तर कुनै सुनुवाई नहुँदा समस्याको दीर्घकालीन समाधान गर्न नसकिएको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताउनुभयो । ‘हामीले पटकपटक बजेट माग गर्दै आएका छौं । तर सुनुवाई भएकै छैन,’ उनले भने, ‘गाउँपालिकाको सिमित बजेटले तटबन्ध र सडक निमार्णको कार्य पुरा गर्न सम्भव छैन् ।’

स्थानीय बासिन्दाले गुनासो गरेपछि यसअघि कटहरी गाउँपालिकाले सडक पुर्ननिमार्णको प्रयास गरेको थियो । तर बजेट अपुग भएर त्यो कार्य सफल हुन सकेन् । जनताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण नहुँदा बर्षौंदेखि स्थानीयको समस्या ज्यूँको त्युँ छ ।