प्रदेशसभा बजेट अधिवेशन

सत्तापक्षकै सांसदलाई चिठी : निति तथा कार्यक्रमको पक्षमा मात्र बोल्नुहोला

विराटनगर । प्रदेश १ प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद घिमिरेले सत्तापक्षका सांसदहरुलाई चिठ्ठी लेखेर निति तथा कार्यक्रमको पक्षमा बोल्न लगाईएको बताएका छन् ।

शनिबार आर्थिक वर्ष २०७८/०७९ का लागी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद घिमिरेले यस्तो बताएका हुन । उनले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीद्धारा लिखित चिठीका कारण आफुलाई रोष्टममा उभिन बाध्य हुनुपरेको जिकिर गरे ।

‘सरकारलाई विश्वास छैन ? मलाई मात्र चिठी लेखिएको हो वा अन्य माननीय ज्युहरुरुलाई पनि चिठी लेखिएको छ ?,’ उनले भने, ‘माननीय ज्यूहरुले रोष्टममा आएर निति तथा कार्यक्रमको सर्मथनमा बोलेर भाग लिईदिनुहोला भनेर चिठी लेखिएको छ । सरकार किन डराएको हो ? हामी त सत्तापक्ष हौं ।’

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य घिमिरेले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको हवाला दिएर चिठी लेखिएको दाबी गरे । बोल्नकै लागि चिठी लेखिनु संसदीय अभ्यासको गरिमालाई ठेस पुग्ने क्रियाकलाप भएको उनले टिप्पणी गरे ।

‘हामीले बनाएको निति तथा कार्यक्रममा जनताले, मजदुरले, श्रमिकले र नदी किनारमा बसेका सुकुम्बासीले के–के पाए ? हिजो बनाएको कार्यक्रम सफल भयो कि भएन ? हामीले असल निति लियौ कि लिएनौं भन्ने कुराको संकेत यहाँबाट देखापर्दैछ,’ उनले भने, ‘हामीले जहिले पनि दलाल पुँजीपतिहरुको हित हुने बजेट बनाएका छौं । त्यसकारण ती गरिब, दलित, सुकुम्बासीहरु र भुमिहीन सुकुम्बासीहरुको बिचमा त्यो बजेट कहिल्यै पुग्दैन । त्यसैले यो निति तथा कार्यक्रम गलत छ ।’

शनिबार बसेको प्रदेशसभा बजेट अधिवेशनको बैठकमा नेकपा एमाले पक्षका सांसदहरु अम्बिका थापा, आशारत्न जबेगु र उत्तमकुमार बस्नेतले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको सर्मथन गरेका थिए । उनीहरुले आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा संसदमा उठेका बिषयहरु सम्बोधन गरिएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य अम्बिका थापाले कोरोना महामारीका कारण प्रदेश १ आक्रान्त बनिरहेको बेला स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर ल्याईएको निति तथा कार्यक्रम उत्कृष्ट रहेको बताएकी थिईन् । प्रदेश सांसद आशारत्न जवेगुले आगामी आ.ब.को निति तथा कार्यक्रम प्रदेश १ लाई समृद्ध र समुन्नत बनाउने तर्फ उन्मुख रहेको भन्दै समर्थन गरेकी थिईन् । यस्तै प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेत पनि निति तथा कार्यक्रम प्रति सकारात्मक देखिएका थिए ।

यही जेठ २७ गते बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्नुभएको थियो । त्यसपछि त्यसमाथिको छलफलमा भाग लिँदै सांसदहरुले आगामी आ.ब.को निति तथा कार्यक्रम सन्तोषजनक नरहेको र असफल हुने संकेत देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आईरहेका थिए । शुक्रबार बसेको बैठकमा मात्रै विपक्षी दलहरुले निति तथा कार्यक्रमप्रति खरो टिप्पणी गरेका थिए ।

शुक्रबार बसेको प्रदेशसभा बैठकको निति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम पनि ल्याउनु भनि सरकारलाई व्यङ्ग्यात्मक सुझाव दिएका थिए । निती तथा कार्यक्रममा राष्ट्रपति आमा सम्मान कार्यक्रम आएको बिषयप्रति टिप्पणी गर्दै कार्कीले प्रधानमन्त्री बा सम्मान कार्यक्रम छुटेको बताएका थिए । निति कार्यक्रममा आश्वासनको पुलिन्दा मात्रै बाँडिएको उनको भनाई थियो ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्माले ३ वर्षदेखि प्रदेशका गौरवका योजना, रणनीतिक महत्वका योजना र अरुमा समेत बजेट हाल्ने हो भने ५० अर्ब रुपैयाँले पनि नपुग्ने भन्दै भ्रम मात्र छरिएको बताएका थिए ।

सत्तापक्षकै सांसद बिमल कार्कीले समेत चालु आर्थिक वर्षमै वित्तीय अनुशासन भङ्ग हुने गैह्र बजेटरी खर्चहरु भएको स्पष्ट पारेका थिए ।

सांसदहरुको निरन्तर टिका टिप्पणीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम फेल हुने संकेत देखिएपछि मुख्यमन्त्रीको हवाला दिएर निति कार्यक्रमको पक्षमा बोल्न बाध्य बनाईएको नेकपा एमालेकै एक सांसदले पुष्टि गरेका छन् । उनले निति तथा कार्यक्रममाथिको नकारात्मक टिप्पणीले सरकारप्रति जनताको वितृष्णा बढ्दै गएकाले यस्तो कदम चालिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

निति तथा कार्यक्रम भने प्रदेशसभाबाट पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट आउनेछ ।

शनिबार, २९ जेठ, २०७८, दिउँसोको ०२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर