विराटनगर । बिहीबार सार्वजनिक भएको तथ्यांक अनुसार प्रदेश १ मा १ सय ६८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । त्यसमध्ये मोरङमा मात्रै १ सय ८ जना छन् । अझै विराटनगरमा यो संख्या ९७ रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल बढिरहेको संक्रमितको संख्यामध्ये आधाभन्दा बढी हिस्सा विराटनगर क्षेत्रकै छ । बिहीबार प्रदेश १ मा कूल १६८ जना नयाँ संक्रमित थपिँदा ९७ जना विराटनगरका मात्रै छन् । बुधबार १०३ मध्ये ४१ जना, मंगलबार ९७ मध्ये ४७ जना विराटनगरका थिए । त्योभन्दा अघिल्लो दिन अर्थात सोमबार ५५ जनामा प्रदेशमा संक्रमण देखियो, त्यसमा २४ जना, आइतबार ४३ मध्ये २७, शनिबार ३९ मध्ये १६ र शुक्रबार ३३ जनामध्ये १४ जना विराटनगरका मात्रै थिए ।
यो तथ्यांकले विराटनगरमा कोरोना संक्रमणको दर उच्चस्तरले वृद्धि भइरहेको जनाउँछ । यसलाई नियन्त्रणका लागि न त प्रदेश सरकारले आवश्यक योजना बनाएको छ न त विराटनगर महानगरपालिकाले नै ध्यान दिएको छ । आजसम्म पनि विराटनगरका बजारमा भीडभाड कम छैन । कतिपय होटल रेष्टुरेन्टमा साना तिना पार्टी तथा सेमिनारहरु भइरहेकै छन् । सार्वजनिक समारोह पनि कतिपय अवस्थामा भइरहेका छन् । कोरोना फैलिनका लागि अहिलेको अवस्था उर्बर बनेर आएको छ । तर, सरकार मौन छ, स्थानीय तह मौन छ र प्रदेश सरकार चुपचाप बसेको छ ।
यसरी कोरोना फैलिनुको कारण के हो ?
एक सातायता विराटनगरमा भयावह रुपमा कोरोना संक्रमण फैलिनुमा चिकित्सकहरुले दुईटा कारणलाई मुख्य मानेका छन् । एक भारतीय भूमिसम्म हुने अनाधिकृत आवातजावत र दुई केही दिनअघि सम्पन्न विराट गोल्डकप फुटबलको भीड हो ।
कोशी कोभिड अस्पतालमा संक्रमितहरुको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अहिले संक्रमणमा परेका मध्ये धेरैको ‘ट्राभल हिस्ट्री’ भारतसँग जोडिएको छ । यस्तै दोस्रो नम्बरमा विराट गोल्डकपको भीडमा रमाएकाहरुको संख्या छ ।
‘हामीले कुराकानीका क्रममा बुझ्दा अधिकांश संक्रमित कि भारतसँग कुनै न कुनै रुपमा जोडिएकाहरु छन्, कि विराट गोल्डकपको भीडमा सधैं रमाउनेहरु छन् ’, कोशी कोभिड अस्पतालका एक चिकित्सकले भने ‘हामीले यी दुई कुरा नियन्त्रण गरौं भन्दा कसैले सुनेन । मुख्यमन्त्री, मन्त्रीहरु सधैं आफै गएर फुटबलमा रमाए । अहिले त्यसको परिणाम देखा पर्न थालेको छ ।’ ती चिकित्सकका अनुसार स्वाव परीक्षणस्थलमा लागेको भीडमा पनि अधिकांश फुटबलबाहेक अन्यत्र कतै नगएको बताउने धेरै छन् ।
‘विराटनगर फेरि हटस्पट बन्ने दिशामा अग्रसर भयो’, विराटनगरका चिकित्सक डा. बालृकष्ण साह भन्छन् ‘हरेक दिन दोब्बर संख्यामा संक्रमित थपिनु यसअघिका कमजोरीको परिणाम हो ।’ जनस्वास्थ्य प्रशासनका जानकार यी चिकित्सकले सुरुदेखि नै सीमामा कडाई गर्न र सहरभित्र भीड नगर्न सार्वजनिक रुपमा अनुरोध गर्दै आएका थिए ।
उनीमात्रै होइन, कोशी कोभिड अस्पतालका सरकारी चिकित्सकहरु पनि सरकार र विराटनगर महानगरसामु उही अनुरोध गर्दै धेरैपटक धाएका थिए । तर, न प्रदेश सरकारले सुन्यो, महानगरले । चैत २६ देखि बैशाख ४ सम्म दैनिक ५ हजार हाराहारीमा सहिद मैदानमा भेला हुने दर्शक स्वास्थ्य मापदण्ड अनुसारको सुरक्षा बेगर नै मैदानमा पुग्थे । त्यहीबेला विराटनगरको जुत्ताचप्पल मेला चाहिँ बन्द गराएको प्रशासनले फुटबललाई चाहिँ ‘पूर्व निर्धारित’ भनेर रोकेन । प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्म, मन्त्री, सांसद, महानगरका मेयरसहितका जनप्रतिनिधि सधैं मैदानमा खेल हेर्न पुग्थे । भारतीय दर्शक पनि खेल हेर्न प्रशस्त आएको प्रहरी स्रोतको भनाइ छ ।
एकातिर यस्तो लापरबाही हुँदाहुँदै सीमा नाकामा अर्को वेवास्ता प्रकट भएको थियो । मुख्य नाकाबाट १० जना प्रवेश गरेको तथ्यांक राखेर बस्ने सरकारी निकायले नजिकैका चोरबाटोबाट दैनिक हजारौं मानिस नेपाल भित्रेको वास्तै गरेनन् । अन्ततः त्यही वेवास्ता क्रमशः भारी बन्दै गएको छ ।
गत वर्ष बैशाख ५ यता प्रदेशमा ३१ हजार ७० जना संक्रमित २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ४७५ जनाको मृत्यु भइसकेको छ । मोरङमा मात्रै १३४ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा १४७ जनाको मृत्यु भइसकेको छ । यसैगरी झापामा १२९ र धनकुटामा १२ जनाको ज्यान गइसकेको छ । धनकुटामा १२, उदयपुरमा ८, संखुवासभा १ , तेह्रथुममा ४ इलाम ७ पाँचथर १ ताप्लेजुङ २ र प्रदेश बाहिरका ३० जनाको मृत्यु भइसकेको छ । बिहीबार मात्रै कोरोना संक्रमणका कारण विराटनगरमा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–४ घर भएका पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
यस्तो भयावह भए को बेला कम्से कम अति भिड्भाड हुने स्थानहरु केही समय को लागि बन्दगर्नु उचित होल। भोलि येति यो बिक्राल रुप लियो भन्ने सयद हाम्रो नेपाल मा सम्भाल्न सक्ने आवस्यक श्रोत साधन न पुग्ला कि ? त्यस्कारण बिराटनगर कडाइ कसाथ सतर्कता उप्नौने कि?…