विराटनगर । प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले आर्दश समाज निर्माणमा सञ्चारजगतको भुमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल पत्रकार महासंघको मोरङ शाखा र प्रदेश १ समितिको पदस्थापन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्य र तथ्य समाचारका माध्यमबाट जनताका समस्या र चाहना सरकार समक्ष पुर्‍याउने तथा सरकारी क्रियाकलापलाई जनता समक्ष पारदर्शी बनाउने सशक्त माध्यम सञ्चारजगत नै रहेको धारणा व्यक्त गर्नुभयो ।

संघीयता कार्यान्वयनको अभिन्न अङ्गको रुपमा हेरिएको सञ्चार जगतलाई जनताका संवैधानिक हक र अधिकार रक्षाको प्रमुख स्तम्भका मानिएको सभामुख भण्डारीले जिकिर गर्नुभयो । पेशागत मर्यादा र अनुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउन तथा राज्यलाई जनताप्रति उत्तरदायी बनाउन महत्वपुर्ण सघाउ पुग्ने उहाँको बिश्लेषण छ ।

बिहीबार भने हालै सम्पन्न नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो । गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लिलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा २० सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै मोरङबाट पत्रकार महासंघको प्रदेश परिषद सदस्यमा १३ जना र केन्द्रिय परिषद सदस्यमा ५ जनाले जिम्मेवारी पाएका छन् ।

बिहीबार नवनिर्वाचित जिल्ला कार्यसमितिलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र मुख्य निर्वाचन अधिकृत दीपक दाहालले प्रमाण–पत्र प्रदान गर्नुभयो । यस्तै नवनिर्वाचित प्रदेश कार्यसमितिलाई भने निर्वाचन समितिका संयोजक यज्ञराज शर्मा र सभामुखले प्रमाणपत्र वितरण गर्नुभयो ।