विराटनगर । मोरङको बुढीगङ्गा–२ स्थित नेपाल वेलहोप एग्रीटेकका नामले सञ्चालित पोल्ट्री फार्मको औद्योगिक प्रदूषणले आसपासको वातावरण विषाक्त बन्दै गएको छ ।
उद्योगबाट निस्कने अप्रशोधित फोहोरमैला, रासायनिक पदार्थ र त्यसको दुर्गन्धले आसपासको वातावरण विषाक्त बन्दै गएको हो । आवश्यक नियमनको अभावमा बढ्दो औद्योगिक प्रदूषणले मानव स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउन थालेको छ । हप्ता दिन नबित्दै वडा नं. २ स्थित थानपर्ती र सकमाहाका स्थानीयबासी पटक–पटक बिरामी पर्ने गरेका छन् । उद्योगबाट निस्कने प्रदुषणले आँखा पोल्ने, छाती दुख्ने, खाना नरुच्ने र वान्ता हुने लगायतका समस्याहरु बारम्बार देखिने गरेको स्थानीय चनिया ऋषिदेवले बताए । उनले भने, ‘यहाँ नयाँ मान्छे त बस्नै सक्दैनन्, बाटो हिँडे पनि गन्हाउँछ, घर बसे पनि गन्हाउँछ ।’
करिब ५६ बिघा क्षेत्रफलमा फैलिएको पोल्ट्री फार्मले करिब १५ वर्षदेखि कुखुराको दाना र चल्ला उत्पादन गर्दै आएको छ । तर, दाना र चल्ला उत्पादन गर्दा निस्कने फोहोर र कुखुराको सुलीलाई फार्मले उचित व्यवस्थापन नगरी छेउ भएरै बग्ने बस्तर खोलामा बगाउने गरेको छ ।
केही समय अगावै स्थानीयबासी उद्योगले फैलाइरहेको प्रदुषणको समस्या लिएर वडा कार्यालयसम्म पुगेका थिए । तर, वडा कार्यालयबाट पनि समस्याको सुनुवाई नभएको स्थानीय झमेली ऋषिदेवको भनाई छ । जतिपटक गुनासो गरेपनि सुनुवाई हुँदैन, उनले भने, ‘दिनभरि खटेर आउँछौं, तर, यही दुर्गन्धले दुई छाकको खाना पनि राम्ररी खान सक्दैनौं ।’
फार्मबाट निस्कने फोहोरको उचित व्यवस्थापनको माग गर्दै स्थानीयले यसअघि पनि वडा नं. २ को कार्यालयमा आफ्नो समस्या राखेका थिए । स्थानीयको गुनासोका आधारमा वडा कार्यालयले फार्मलाई प्रदुषण नियन्त्रण गर्न निर्देशन पनि गरेको थियो । हाल समस्या पुनः दोहोरिएकाले यसबारे तत्कालै आवश्यक पहल गरिने बुढीगङ्गा गाउँपालिका वडा नं. २ का अध्यक्ष रेवतीनारायण चौधरीले बताए ।
हाल मोरङ–सुनसरी कोरिडोरमा भने ६ सयभन्दा बढी उद्योगधन्दा तथा कलकारखानाहरु सञ्चालनमा छन् । जसमध्ये अर्थतन्त्रको मेरुदण्ड मानिएका अधिकांश उद्योगहरु वातावरण प्रदूषणको कारक बन्दै गएका छन् । आवश्यक अनुगमन र नियमनको अभावमा उद्योगहरु नियन्त्रण बाहिर गएको स्थानीयको बुझाई छ ।