विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या उकालो लाग्न थालेपछि विराटनगरका निजी अस्पतालमा पुनः कोरोना संक्रमितको उपचार सुरु हुने भएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रणमा आएपछि गत पुस अन्तिम साताबाट निजी अस्पतालले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्र बन्द भएको थियो ।
सङ्क्रमण बढेपछि निजी अस्पतालले बन्द गरेका कोरोना अस्पताल पुनः सञ्चालनको तयारी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । निजी अस्पताललाई उपचार केन्द्र सञ्चालनका लागि तयारी अवस्थामा रहन केही दिनभित्र निर्देशन दिइने उनको भनाइ छ ।
विराटनगरमा एक सय ८० बेडको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालनमा छ । विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्यूरो अस्पतालले सञ्चालन गरेको छुट्टै कोरोना अस्पताल बन्द अवस्थामा छन् । सङ्क्रमितको संख्यासँगै अस्पताल बस्नुपर्ने प्रकृतिका बिरामी बढ्दै गएका कारण निजी अस्पताललाई पनि तयारी गर्न निर्देशन दिइनेछ ।
स्वास्थ्य विभागबाट निजी अस्पतालसँग समन्वय गर्न भनेर पत्र आएको मन्त्रालयले जनाएको छ । पत्र आएपछि मन्त्रालयले एक चरण निजी अस्पतालसँग छलफल गरेर कोभिड अस्पताल सञ्चालनको तयारी गर्न आग्रह गरिसकेको छ ।
विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले भर्ना नलिएका कारण एन्टिजेन पोजेटिभ उदयपुरको त्रियुगा नगरपालिका–६ की ३५ वर्षीय महिलाको सोमबार मृत्यु भएको थियो । त्यसपछिस निजी अस्पतालहरूलाई संक्रमितको उपचार गर्ने तयारी गर्न निर्देशन दिन लागिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
अस्पताल भर्ना गर्नुपर्ने बिरामी बढ्दै गएकाले निजी अस्पताललाई कोभिड अस्पताल सञ्चालन गर्न लगाउने तयारी भएको हो ।