लोड हुँदैछ...

मेनु

वन कर्मचारीको शंकास्पद मृत्यु प्रकरण

प्रहरी अनुसन्धान नै शंकाको घेरामा

प्रहरी अनुसन्धान नै शंकाको घेरामा

विराटनगर । २०७७ मङसिर १७ गते । गाडी चालकसहित ७ जना वनरक्षकसहितको टोली वन गस्तीमा निस्किएको थियो । त्यही टोलीमा थिए, लेखनाथ बाँस्तोला पनि । उदयपुरस्थित इलाका वन कार्यालय तपेश्वरीमा कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारी थिए, बाँस्तोला ।

साँझ करिब ७ बजे बाँस्तोलाकी पत्नी देवकुमारी बाँस्तोलाले उनलाई फोन गरेकी थिइन्, तर उठेन । मोबाइलमा फोन आएको देखेपछि राति करिब ८ः१५ मा लेखनाथले श्रीमतीलाई फोन गरे । होहल्लाका कारण आफू जङ्गलमा भएको जानकारी गराउँदै उनले फोन काटे ।

त्यसपछि राति करिब १०ः५५ बजे लेखनाथकी श्रीमती देवकुमारीको मोबाइल बज्यो । फोनमा उनलाई जे सुनाइयो, त्यो विष्मयकारी खबर थियो । ‘तस्करले छोडेको भरुवा बन्दुक पड्केर कार्यालय अगाडि नै तपाइँको पतिको मृत्यु भयो’ भन्ने सन्देशसहितको फोन थियो, त्यो । अचानक आएको यस्तो खबरले बास्तोला परिवारमा ठूलै हुण्डरी ल्याए झैं भयो । नहोस् पनि किन, केहीबेर अघिमात्रै गस्तीमा छु भनेको मान्छेको नपत्याउँदो घटनाक्रमबाट ज्यान गुमाएको खबर आएको थियो ।

खबर सुनेलगत्तै घरबाट निस्केका लेखनाथका आफन्त भोलिपल्ट बिहान करिब ७ बजे घटनास्थल पुगेका थिए । घटनास्थल पुगेपछि मृृतकको लाशजाँच विश्लेषण गर्दा घटना शंकास्पद देखिएको आफन्तहरुको भनाइ छ । त्यसपछि उनकी पत्नी लगातार रुपमा घटनाको निष्पक्ष छानबिनको माग गर्दै आइरहेकी छन् । तर, उनको मागको सुनवाइ भएको छैन ।

कमजोर मिसिल बनाएर कर्तव्य ज्यान मुद्दाका अभियुक्तहरुलाई संरक्षण गर्न खोजिएको पीडितका आफन्तले आरोप लगाएका छन् । प्रहरीकै मिलेमतोमा घटनाको ढाकछोप गर्ने प्रयास भएको मृतकका आफन्तको आरोप छ । सुनसरीको दुहबी–४ बस्दै आएका लेखनाथ वि.सं. २०५१ सालदेखि वन कार्यालयमा कार्यरत थिए ।

तस्करले छोडेको भरुवा बन्दुक पड्केर कार्यालय अगाडि नै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । तर, वन कार्यालयका प्रमुख सत्यनारायण चौधरी, सशस्त्र वनरक्षक विनोदकुमार झा, भुपेन्द्र चौधरी, पर्तबहादुर कार्की र मणिप्रसाद न्यौपाने तथा ड्राईभर राजदेव दनुवारको समूहले सुनियोजित रुपमा उनकोे हत्या गरेको मृतककी श्रीमती देवकुमारी बास्तोलाले बताइन् ।

अभियुक्तहरुलाई उदयपुरस्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरिक्षक तेजबहादुर दाहाल र अपराध अनुसन्धानमा कार्यरत प्रहरी नायब निरीक्षक हरि खड्काले कमजोर मिसिल बनाएर संरक्षण गर्न खोजेको आफन्तको गुनासो छ । दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

बन्दुकको दायाँबायाँ बटमा रगत लागेको, बन्दुक गाडीमाथि नै राखिएको, टायरसहित गाडीको दाहिनेतर्फको सिटमा पनि रगत लागि सुकेको र कार्यालयको गेटदेखि ६० फिट पश्चिमसम्म रगतका थोपाहरु देखिएको विषयले घटना शंकास्पद देखिएको मृतकका दाजु उदय बाँस्तोलाले बताए । ‘घटनास्थलमा देखिएको रगतको चाल अध्ययन गर्दा त्यहाँ संघर्ष भएको देखिन्छ’, उनले भने ‘अभियुक्तहरुको भनाइ अनुसार मृतकलाई बन्दुक नजिकैबाट गोली लागेको घाउ हुनुपर्ने हो, तर, अदालती चिकित्सा विज्ञान शास्त्रका अनुसार मृतकको शरिरमा देखिएको घाउ त्यस प्रकृतिको होइन ।’

हाम्रोमतसँग कुरा गर्दै वन गस्तीमा खटिएका इलाका वन कार्यालयका प्रमुख सत्यनारायण चौधरीले भने शिकारीले छोडेको बन्दुक पड्किएरै बाँस्तोलाको मृत्यु भएको दाबी गरेका छन् । उनले घटना शंकास्पद देखिए पनि वास्तविकता त्यही भएको जिकिर गरेका छन् ।
घटना हुनासाथ रातको ११ बजे वन कार्यालय प्रमुख सत्यनारायण चौधरी र सशस्त्र वनरक्षक भुपेन्द्र चौधरीले मृतकको घटनास्थलमै मृत्यु भएको बताएका थिए । तर, मङ्सिर १९ गते कागज गर्दा आफू प्रत्यक्षदर्शी नभएको र मृतकलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको हो भन्दै निजले बयान परिवर्तन गरेको आफन्तले जनाएका छन् ।

गस्तीमा जाँदा बा १ झ ६७१० नं. को गाडीमा चालकसहित ७ जना गएको भन्ने बताइरहँदा कुनै पनि कागजमा उनीहरुको स्पष्ट विवरण उल्लेख नरहेको बुलबुले सामुदायिक वनका अध्यक्ष हरिशंकर पोखरेलले बताए । घटना शंकास्पद देखिएपछि मङसिर १९ गते मृतकका आफन्त उजुरी हाल्न इलाका प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले उल्टै डरधम्की देखाउँदै मुद्दा दर्ता गर्न मानेन । नमानेपछि उनीहरु न्याय माग्दै जिल्ला सरकारी वकीलको कार्यालय पुगेका थिए ।

सरकारी वकीलको कार्यालयबाट प्रमुख जिल्ला अधिकारीलाई फोन गएपछि, जिल्ला प्रशासनको निर्देशनमा बल्ल प्रहरीले पीडित पक्षको मुद्दा दर्ता गरेको हो । प्रहरीले मुद्दा दर्ता गरेपनि घटनाको अनुसन्धान टोली अभियुक्तहरुको संरक्षणमा लागेको आरोप परिवारले लगाएको छ । हाल उक्त घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरका प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार सबै प्रविधिको प्रयोग गरेर घटनाको छानबिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds