विराटनगर । गत वर्ष २०७७ वैशाखदेखि चैत्र महिनासम्ममा १ नम्बर प्रदेशका १४ जिल्लामा साढे ६ हजार भन्दा बढी मुद्दा दर्ता भएको र ३८ करोड बढी राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ६ हजार ८७६ वटा विभिन्न अपराधका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ ।

अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएकोले सफलता हासिल भएको प्रदेश प्रहरी कार्यालयको दाबी छ । डिआइजी ईश्वरबाबु कार्की प्रदेश प्रहरी प्रमुख भएर आएको एक वर्षमा मात्र ६ हजार ८७६ वटा बिभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भएर पनि फरार रहँदै आएका ७८७ जना पक्राउ परेका छन् । उनीहरुबाट ७४४ वर्ष कैद भुक्तान भई ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीले जनाएको छ ।

यसैगरी सोही अवधिमा लागुऔषध नियन्त्रणतर्फ ३ हजार ४८८ ग्राम ब्राउनसुगर बरामद गरिएको छ भने १ हजार २१३।१९९ केजी गाँजा बरामद भएको छ । यस्तै बिभिन्न मनोद्विपक क्याप्सुल ५३ हजार १११ ट्याब्लेट र सुई ८ हजार १४२ एम्पुल बरामद भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले सो अबधिमा २ हजार ४२९।९६ रोपनीमा लगाएको गाँजा खेती फडानी गरि ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरेको जनाएको छ । भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकासी गर्ने १५० जना मानिस पक्राउ गरेका छन् भने १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ ।

सो अवधिमा नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४१ जना पक्राउ गर्दा ७०६ वटा नदिजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ती सवारी साधनलाई जरिवाना गरि ५५ लाख १८ हजार २२० रुपैयाँ राजश्व पनि संकलन भएको प्रदेश प्रहरीको भनाई छ ।

अबैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गरेको सो अबधिमा ३ हजार क्यूफिट काठ बरामद भएको छ भने ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ । ट्राफिक नियम उलंघन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधन कारवाहीमा पर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ ।

एक वर्षको अबधिमा कुल राजश्व ३८ करोड १२ लाख ६१ हजार १ सय ७४ संकलन भएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।