न्यूरो सर्जरीका सारथी

हजारौं विरामीलाई नयाँ जीवन दिएर डा.रोका हरेक बिरामीको परिवारमा खुसीको प्रकाश छर्न सफल छन् ।

हरदमको सक्रियता, अनुहारमा उस्तै चमक, फिट शरीर, हक्की स्वभाव । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको आवरणीय चिनारी यही हो । बिरामीसँगको उनको सामीप्यता अझ लोभलाग्दो छ । दैनिक ५० जना बिरामी जाँच्दै आएका उनले २० वर्षको अवधिमा लाखभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका छन् । हजारौं विरामीलाई नयाँ जीवन दिएर डा.रोका हरेक बिरामीको परिवारमा खुसीको प्रकाश छर्न सफल छन् ।

स्वर्गीय बुवा क्याप्टेन पदमबहादुर र आमा मीनकुमारी रोकाको कोखबाट २०२८ असोज १० गते पश्चिम नेपालको बाग्लुङको वलेवामा जन्मिएका डा. रोकाको बाल्यकाल रमाइलोसँग बित्यो । ‘बाबु इण्डियन आर्मी हुनुहुन्थ्यो । त्यही भएर मैले पनि भारतमा गएर शिक्षा हासिल गरेँ,’ विगत सम्झिँदै डा.रोकाले भने ‘चार वर्षको उमेरमा बुवाले भारत लिएर जानुभयो । सुरूवातमा मद्रासमा पढें । त्यसपछि दार्जिलिङमा । यसरी भारतको विभिन्न स्थानमा मैले उच्च शिक्षा हासिल गरें । एमबीबीएस र एमएस सर्जरी भारतमै पूरा भयो ।’

पढाई विदेशमा भएपनि पेशागत दक्षता स्वदेशमै उपयोग गर्ने उनको इच्छा थियो । पढाई सकेपछि २८ वर्षको उमेरमा डा.रोका नेपाल आए । त्यसबेला उनी जनरल सर्जन थिए । पढाइ सकिनेबित्तिकै भारतमै जागिरको अफर आएको थियो । तर, उनलाई स्वदेशमा सेवा गर्ने इच्छा प्रबल थियो । उनले सुनाए ‘त्यसपछि २०५६ सालमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर सेवा सुरु गरंँे ।’

रोकाले तीन वर्ष बीपीमा असिस्टेन्ट प्रोफेसर भएर काम गरे । त्यसबेला विद्यार्थीहरुलाई एमबीबीएस, एमएस, बिडिएस, नर्सिङलाई पढाउने, तालिम दिने काम गरे । त्यसबेला पूर्वमा न्यूरो सर्जरी सेवा अभाव थियो । न्यूरो सर्जनको आवश्यकता बोध भएपछि उनलाई न्यूरो सर्जन बन्ने इच्छा जाग्यो । त्यसपछि वीर अस्पतालबाट न्यूरो सर्जरी पूरा गरे । उनी वीर अस्पतालको न्याम्सको फस्ट एमसीएच न्यूरो सर्जन पनि हुन् । त्यसपछि दुई वर्ष सिंगापुरमा पनि गएर थप पढाई सकेपछि न्यूरो सर्जन भएर पूर्वाञ्चल आए । बीपीमा एक वर्ष सेवा गरेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा जोडिए ।

२०६६ सालमा न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा.वीरेन्द्रकुमार विष्ट तथा कार्यकारी निर्देशक अनिशा विष्टले त्यसबेला पूर्वाञ्चलमा न्यूरो सर्जरी सेवाको आवश्यकता महसुस गरेर उनको नेतृत्वमा न्यूरो र्सजरी सेवा सुरू भयो ।

पाँच हजारभन्दा बढी शल्यक्रिया

डा.रोकाले न्यूरो अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू गरेपछि हालसम्म ५ हजारभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिसकेका छन् । त्यही सफलताले नै उनलाई अहिलेको चर्चित रं व्यस्त न्युरो सर्जन बनाएको हो ।

यसबीचमा उनीसँग केही रोचक अनुभव पनि छन् । त्यहीमध्येको एक हो, उनको करिअरकै सबैभन्दा लामो शल्यक्रिया । अपरान्ह ४ बजे सुरु भएको शल्यक्रिया बिहान ९ बजेसम्म गर्नुपरेको थियो । त्यो इमर्जेन्सी शल्यक्रिया उनी कहिल्यै भुल्दैनन् । ‘एक जना विरामीको ब्रेन टुयुमरको शल्यक्रिया गर्दा पूरै रात मैले काम गरेको छु,’ डा. रोकाले सम्झिए ‘बेलुका ४ बजेदेखि विहान ९ बजेसम्म १७ घण्टासम्म लगाएर ती विरामीको शल्यक्रिया गरेर सफल भएको थियो ।’ अहिले पनि १२ देखि १३ घण्टासम्मको शल्यक्रिया गर्दै आएको उनले सुनाए ।

डा.रोका दैनिक १२ घण्टा वा त्यो भन्दा बढी बिरामीको सेवामा खटिँदै आएका छन् । कहिलेकाहीँ सर्जरी गर्दागर्दै विहान उज्यालो भैसक्छ । कहिले त रातभरी नै अस्पतालमै हुन्छन्, उनी । वि.सं.२०७२ सालको महाभूकम्पकै बेला डा.रोकाले ब्रेनका समस्या भएका विरामीको शल्यक्रिया गरेका छन् । ‘हस्पिटलको भवन बेला—बेलामा हल्लिरहेको हुन्थ्यो, स्थिति भयावह थियो’ उनले भूकम्पका बेलाको सम्झना गरे ‘त्यहीबेला हामी टाउकोमा चोट लागेका बिरामीहरुको उपचारमा व्यस्त थियौं ।’ न्यूरो अस्पतालमा काम गर्दा डा.रोका अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरुलाई देउता सम्झन्थे । जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनले राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् ।

डा.रोकाले पूर्वमा न्यूरो सर्जरी सेवा सुरू गर्नुभन्दा अघि यहाँका विरामी भारतको सिलिगुढी र काठमाडौं जानुपर्ने अवस्था थियो । सवारी दुर्घटनामा परी घाइते भएका विरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था थियो । अहिले स्थानीय स्तरमा न्यूरो सर्जरी सेवा सुरु भएपछि त्यो बाध्यता अन्त्य भएको छ ।

न्यूरो अस्पतालमा सेवा सुरु भएपछि प्रदेश १ र २ का विरामीले न्यूरो सम्बन्धी सम्पूर्ण सेवा यहीँबाट पाउने गरेका छन् । ‘आजको मितिसम्म आइपुग्दा हामीले पाएको सफलताबाट प्रेरित भएर प्रदेश १ मा न्यूरो अस्पतालबाहेक ८ वटा अस्पतालहरुमा न्यूरो सर्जरी सेवा सुरू भएको छ । मसँग सिकेका ७ जना चिकित्सकहरु अहिले न्यूरो सर्जन भइसक्नुभएको छ,’ डा.रोका यो सुनाउँदा प्रफुल्लित देखिन्थे ‘प्रदेश १ मा मात्र १६÷१७ जना न्यूरो सर्जनहरु कार्यरत छन् । जसले गर्दा यहाँका विरामीको दुर्घटना वा अन्य न्यूरो सर्जरीसँग सम्बन्धी रोगबाट हुने मृत्युदरलाई धेरै नै कम गर्न सफल भइएको छ ।’ उनका अनुसार भारत गएर न्यूरो सर्जरीको लागि महंगो उपचार खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

अबको उद्देश्य अरु धेरै दक्ष न्युरो सर्जनहरुको उत्पादनमा सहयोग गर्ने रहेको डा.रोकाले सुनाए । ‘आफूले हासिल गरेको ज्ञान नयाँ पुस्ताका न्युरो सर्जनमा हस्तान्तरण गर्ने उद्देश्य छ,’ उनले भने । जीवनको हरसमय बिरामीको उपचारमा खर्चेका डा.रोकालाई सबैभन्दा खुसी के कुराले दिन्छ ? उनले सुनाए ‘जब बिरामी निको बनाएर घर पठाउने समय हुन्थ्यो त्यो बेला बिरामी र आफन्तले दिने सम्मान र आर्शिवाद मेरा लागि अतुलनीय खुशी लाग्छ ।’ डा.रोका भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रवल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । आफूले प्राप्त गरेको सम्मान र पदक शुभचिन्तकहरूलाई समर्पण गर्ने उनको भनाइ छ । ‘मैले पाएको सुप्रवल जनसेवाश्री मानपदवी मेरो शुभचिन्तकहरुमा समर्पण गर्न चाहन्छु,’ उनले भने । त्यसबाहेक नेपाल भारत शिरोमणी अवार्ड, आइकन अफ हेल्थकेयर अवार्ड, सिगांपुर, फोकस नेपाल अवार्ड, दाहाल अन्तराष्टिय अवार्ड, जनबिद्रोह पत्रिका अवार्ड, आर. जिलिन्कास अवार्ड बाट सम्मानित भइसकेका छन् ।

पेसाले चिकित्सक डा.रोका कवि पनि हुन् । बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने रोकाले दुई वटा कवितासंग्रह प्रकाशित गरिसकेका छन् । उनले अंग्रेजी कविता संग्रह ‘१०८ कविताको भोल्युम १ र २’ बजारमा ल्याएका छन् । डा. रोकाको कविता संग्रहमा १ सय ८ वटा अंग्रेजी कविता छन् । ३ देखि ७ भोल्युमको अर्को अंग्रेजी कविता संग्रह पनि बजारमा ल्याउने तयारीमा लागेका उनी भन्छन्, ‘कोभिड १९ ले गर्दा मेरो अर्को कविता संग्रह बजारमा आउन ढिलो भयो । अहिले प्रकाशनको क्रममा रहेको छ । महिना दिनभित्र ल्याउने योजना छ ।’ अंग्रेजी कविता संग्रहको नेपाली अनुवादको योजना पनि रहेको सुनाउँदै उनले थपे, ‘नेपालीमा पनि अनुवाद गर्ने योजना बनाएको छु ।’

रोका समाजसेवा पनि सक्रिय छन् । दुरदराजका बस्तीमा शिक्षाको पहुँच होस् भन्ने उद्देश्यले डा.रोकाको जन्मस्थल बाग्लुङको स्कूललाई सहयोग गर्दै आएका छन् । उनले बिक्री भएको कतिवा संग्रहको पैसा स्कूललाई सहयोग गरिरहेका छन् ।

SKydiving, प्याराग्लाइडिङ, Water Rafting, Squva Diving जस्ता साहसिक क्रियाकलाप गर्न रूचाउने डा.रोका Nepalese Society of Neuro Surgeons(NESON) का उपाध्यक्ष तथा Neurovascular Chapter of NESON का अध्यक्ष पनि हुन् ।

सोमबार, ०६ बैशाख, २०७८, दिउँसोको ०१:५२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर