सडक निर्माणको माग गर्दै सडक अवरुद्ध 

उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला सडक खण्डका स्थानीय बासिन्दा सडक अवरुद्ध जारी राखेका छन् ।

बिहीबारदेखि स्थानीयबासीले सडक अवरुद्ध जारी राखेका हुन् । शुक्रबार पनि उर्लाबारी वडा नं. ५ र वडा नं. ६ का स्थानीयले सडक निर्माण अलपत्र भएको भन्दै सडकमा बाँसको ढाट राखेर अवरुद्ध गरेका छन् । निर्माण पक्षको लापरबाहीका कारण सडक निर्माण अलपत्र परेको र धुलोले आफूहरु प्रभावित बनेको स्थानीयको गुनासो छ ।

सडक कालोपत्रे निर्माण कार्य सुरु भएको ९ वर्ष भइसक्दा पनि कार्य नभएका कारण आफूहरुको धैर्यको बाँध टुटेको स्थानीय गजेन्द्र दंगालले जानकारी दिनुभयो । पटक–पटक सडक निर्माण गर्ने आश्वासन पाएपनि काम सुरु हुन नसकेको उहाँको भनाई छ । उहाँले स्थानीयबासीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो ।

स्थानीय भक्तिराम पोख्रेलको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । सडक निर्माणका लागि सम्बन्धित निकायमा सो समितिले पहल गर्ने जनाइएको छ ।

२०६९ सालमा ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । २०७१ जेठ ३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि काम नसकी ठेकेदार बिचैमा बेपत्ता भएपछि निर्माण कार्य अधुरो बनेको हो । स्थानीयले सडक निर्माणका लागि गरेको आन्दोलन यो पहिलो भने होइन । पटक पटक आन्दोलन भए । निर्माणको आश्वासन पाएपनि काम हुन सकेको छैन ।

शुक्रबार, ०३ बैशाख, २०७८, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर