विराटनगर । कोरोना भाइरस नियन्त्रणका अनेक उपाया सुझाउँदै हिंड्दा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भइरहेका बेला भर्खरै प्रदेश १ सामाजिक विकासमन्त्री बनेकी उषाकला राईले सोही खालको विवादित अभिव्यक्ति दिएकी छिन् ।
विराटनगरमा झापाका एक जना कोरोना संक्रमितको मृत्यु भएपछि सोमबार कोशी कोभिड अस्पताल अनुगमनमा निस्किएकी उनले बिरामीलाई सकेसम्म अस्पतालमा नआउन र घरमै सोत्तरको बाफ लिन आग्रह गरेकी हुन् ।
‘हस्पिटलमा आएर मात्रै पनि सबै कुरा निको हुँदैन । अस्पताल भनेको हाम्रो बाध्यता हो,’ मन्त्री राईले भनिन्, ‘तर, अस्पतालमा आउनेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्दैन ।
उनले हस्पिटलमा नगइ घरमा बसेर तातो खाने र तातोमा बसेर पनि कोरोना निको हुने मात्रै नभई सोतरको बाफ लिएर पनि निको भएको उदाहरण रहेको दलिल पेश गरिन् । ‘सुरुमै हस्पिटलमा नगई घरमा बसेर, तातोमा बसेर, तातो खाएर, सफा सुग्घरमा बसेर पनि यो रोग नियन्त्रण गर्न सकिन्छ,’ उनले भनिन् । यस्तै उनले नेपालीमा ‘सोतर’ भनिने जातको जडिबुटी पनि रहेको बताउँदै त्यसलाई पकाएर बाफ लिँदा कोरोना भएकाहरु निको पनि भएको दाबी गरिन् ।
‘नेपालीमा सोतर भनिन्छ, यसखालका जडिबुटी जडिबुटी धेरै छन् के, त्यसलाई पकाएर बाफ लिँदा खेरि कोरोना भएर घरमा गएका कथाहरु पनि छन् भने निको भएका घटना पनि छन् ।’
अस्पताल तयारी अवस्थामा
मन्त्री राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् । आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताइन् ।
मन्त्री राईले सीमा नाकामा आवश्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको बताउँदै कोभिड अस्पतालमा उपचारको प्रबन्ध गर्न उनले निर्देशन दिइन् । ‘कतैबाट गुनासो आउनु भएन,’ उनले भनिन् ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताउनुभयो । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उहाँले बताउनुभयो । सचिव कार्कीले भने, ‘देशव्यापीमा वृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ कोरोनाको पुनरावृत्ती भएको देखिएको उनले बताए । संक्रमण दर बढेसँगै अस्पताल, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवश्यकता अनुसार आइसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेशस्तरिय सिसिएमसीको बैठक तयारी भइरहेको उनले बताए ।