सफल भएन प्रदेशसभाको अवरोध खुलाउने प्रयास

विराटनगर । विपक्षी दलहरुले अवरुद्ध गर्दै आएको प्रदेशसभा बैठकलाई सुचारु गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आयोजना गरेर सहजीकरणको प्रयास गर्नुभएको छ । सभामुख भण्डारीले सदनको अवरोध खुलाउने प्रयत्न गरेपनि सर्वदलीय बैठकमा भने कुनै सहमति बन्न सकेन । सभामुख भण्डारीले बोलाउनुभएको बैठकमा मुख्यमन्त्री शेरधन राई उपस्थित नभएपछि सहमतिको प्रयत्न असफल भएको हो । सर्वदलीय बैठकमा विपक्षी दलहरुको मागको विषयमा छलफल भएपनि कुनै निष्कर्श ननिस्किएको सहभागीहरुले बताएका छन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलहरुले चालु वर्षको बजेटमा स्वीकृत कार्यक्रमहरु सञ्चालन गर्न, योजनाहरुका लागि आवश्यक स्रोत सुनिश्चितता गराउन र गौरवका आयोजनाहरुलाई निरन्तरता दिन माग गर्दै आएका छन् । उनीहरुले बजेटमा व्यवस्था भएअनुसार प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा सरकार उदासीन भएको भन्दै कार्यान्वयनको माग गरेको छ ।

त्यस्तै अलपत्र रहेका बहुवर्षे विकास आयोजनाहरुलाई निरन्तरता दिन पनि विपक्षीहरुले माग गर्दै आएका छन् । बजेट अभावको कारण देखाएर ती सबै आयोजना रोकिएको भन्दै त्यसको निरन्तरता दिनुपर्ने उनीहरुको माग छ । ‘हामीले राखेका मागहरुकै विषयमा छलफल गर्न मुख्यमन्त्रीले बोलाउनुभएको हो,’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भन्नुभयो ‘बैठकमा मुख्यमन्त्री आउनुभएन जसले गर्दा समस्या समाधान गर्ने प्रयत्न सफल भएन । मुख्यमन्त्रीले संसदलाई पहिले पनि वेवास्ता गर्दै आउनुभएको थियो अहिले सभामुखले बोलाएको बैठकलाई पनि उहाँले गम्भीररुपमा लिनुभएन ।’

विपक्षी दलका नेता आङ्बोले यस पटक सरकारको तर्फबाट संसदमा जवाफ नखोजेको बरु लिखित प्रतिवद्धता चाहेको टिप्पणी बैठकमा गर्नुभएको थियो । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले सरकार विपक्षी दलहरुको सरोकारप्रति गम्भीर रहेको भन्दै सदनमा त्यसको जवाफ दिने बताउनुभएको थियो । तर, विपक्षी दलहरुले भने आफुहरुले जवाफ नखोजेको समाधान खोजेको बताएका थिए ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले सरकारलाई सघाउन आफुहरु तत्पर भएपनि सरकार नै जिम्मेवार ढंगले प्रस्तुत नभएको बताउनुभयो । ‘हामी सरकारलाई समाधानका उपायमा समेत सहयोग गर्न तयार छौं तर मुख्यमन्त्री संसदबाट भाग्दै अहिले सर्वदलीय बैठकबाटसमेत भाग्नु भएको जस्तो देखियो, ’ नेता यादवले भन्नुभयो ‘उहाँ जिम्मेवार हुनुप¥यो ।’

प्रदेशसभाको पछिल्लो दुई वटा बैठक निरन्तर विपक्षी दलहरुले अबरुद्ध गरेका छन् । सरकारले समस्या समाधान नगरे आउँदो बैठकपनि अवरुद्ध गर्ने उनीहरुको योजना छ । यसैबीच सरकारले भने हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरिरहेको चर्चापनि विपक्षी दलभित्र चलेको छ । प्रदेशसभाको बैठक चैत ३० गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

आइतबार, २९ चैत, २०७७, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर