विराटनगर । निर्माण क्षेत्रमा काम गर्ने मजदुर चरम असुरक्षाका बीच काम गरिरहेका छन् । यहि असुरक्षाका कारण काम गर्दागर्दै हुने दुर्घटनाबाट मजदुरले धमाधम ज्यान गुमाइरहेका छन् ।
मोरङमा भएका पछिल्ला दुई दुर्घटनाले पनि मजदुरको असुरक्षाको अवस्था भयावह रहेको देखाउँछ । असंगठित क्षेत्रमा काम गर्ने उनीहरु कामकै सिलसिलामा भएका दुर्घटनामा परेर ज्यान गुमाउन बाध्य भएका हुन् ।
पहिलो मोरङ केराबारीमा भएको घटनालाई हेरौं । केराबारी गाउँपालिका–८ आमजुङकीकी ४५ वर्षीया कुमारी लिम्बू शुक्रबार खदम खोलामा ढुंगा टिपिरहेकी थिइन् । उखरमाउलो गर्मीबीच तातिएको बगरमा ढुंगा टिपिरहेकी लिम्बू १ बजेतिर थकाइ लागेर बस्न खोजिन् । प्रहरीका अनुसार नजिकै सितलता दिने छहारी भेटिनन् ।
उनले केही पर ठूलो ढुंगो देखिन् । त्यही ढुंगामा अढेस लागेर बसिन् । तर, त्यो ढुंगो जमिनमा दह्रोसँग अडिएको थिएन भन्ने लिम्बूलाई पत्तै भएन ।
अकस्मात् ढुंगो पल्टियो, ढुंगोले लिम्बूलाई किच्यो । यसरी किच्दा लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ‘उहाँ जुन ढुंगामा अडेस लाग्नुभयो, त्यसैले किचेर उहाँको ज्यान गयो’ प्रहरीले भनेको छ । लिम्बू खदम खोलामा ढुंगा टिपेर जम्मा गर्ने र त्यही बेचेर जीविकोपार्जन गर्ने गर्थिन् । अर्को एक्साभेटरका चालकको मृत्यु प्रकरण हो । निर्माणाधीन बाटोमा काम गरिरहेको एक्साभेटरको बकेटले लागेर शुक्रबार दिउँसो मोरङमा त्यसका चालकको मृत्यु भएको छ । मोरङ जहदा–१ भुटाहा चोकस्थित निर्माणाधीन बाटोमा काम गर्ने एक्साभेटरको बकेटले लागेर त्यसैका चालक ताप्लेजुङका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो साढे २ बजे एक्साभेटरमा तेल हालेर तामाङ आफैं चेकजाँच गरिरहेका थिए । सो क्रममा बकेट खुस्किएपछि घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ‘यसले निर्माण क्षेत्रका मजदुरको असुरक्षाको अवस्था भयावह रहेको देखाउँछ’ मजदुर नेता भरत राईले भने ‘यस्ता दुर्घटनामा परेर ज्यान गुमाउने मनदुरका परिवारको अवस्था झनै बेहाल बन्दै जाँदैछ ।’ यस्ता दुर्घटनाका पीडित परिवारलाई राज्यले क्षतिपूर्ति रकमको प्रबन्ध गर्नुपर्ने उनले बताए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।