विराटनगर । विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा नवजात शिशुको उपचारको क्रममा मृत्यु भएपछि शुक्रबार दिनभरी तनाबग्रस्त बनेको छ ।
सुनसरीको इटहरी–१ आँपगाछीकी सरीता प्रधानले जन्मदिने क्रममा चिकित्सकले लापरबाही गर्दा शिशुको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गर्दै आफन्त आन्दोलनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको हो ।
२५ चैतमा आमा र बच्चाको सामान्य अवस्था रहेकै बखत भर्ना गरिएपनि प्रसुती गराउने क्रममा भ्याकुमले तान्ने क्रममा शिशुको मृत्यु भएको आफन्तको दाबी छ ।
आमाको ईच्छा विपरित जर्बरजस्ती पटक–पटक भ्याकुमको प्रयोग गरिएका कारण शिशुको मृत्यु भएको मृतकका बावु मनिष प्रधानले बताए । ‘गर्भवती भएपछि नियमित रूपमा नोबेल अस्पतालमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिदै आएको थियो । चिकित्सकले डेलिभरीको डेट २२ चैतमा दिएका थिए । २४ चैतमा अस्पताल भर्ना भएको भोलीपल्ट प्रसुती गराउने क्रममा सिकारू चिकित्सकहरूले भ्याकुमले तान्दा नवजात शिशुको टाउँको र शरिरभरी घाउँ भयो,’ मृतकका बावु मनिषले भने । उपचारमा लापरवाही गरेको कारणले गर्दा नवजात शिशुको मृत्यु भएको उनले बताए । उनले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गरिनुपर्ने माग राखेका छन् ।
भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाति र शरिरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित हुँदै आएका छन् । शिशु निकाल्दा टाउकोमा प्वाल, छातीमा रगत जमेको टाटो र शरिरभरी निलडाम देखिएको उनको भनाइ छ ।
अस्पताल तोडफोड
नवजात शिशुको मृत्यु भएपछि आक्रोशित भीडले नोवेल अस्पताल तोडफोड गरिदिएका छन् । उनीहरूले अस्पतालको झ्याल र ढोकाको सीसा फुटाईदिएका हुन् । उनीहरुले नोबेल अस्पताल अगाडी डाक्टर मधु साहलाई कारवाही गर्नुपर्ने माग गर्दै मुख्य प्रवेशद्वारबाट आउजाउ बन्द गराउन खोजेका थिए । त्यस क्रममा आन्दोलनमा सहभागी हुन आएकी मिना श्रेष्ठलाई नोबेलका सेक्युरिटी गार्डले हातपात गरेपछि उत्पन्न विवादसँगै आक्रोशित पीडितले नोबेलमा तोडफोड गरेका हुन् ।
प्रहरीले भीडलाई तितरबितर बनाउने क्रममा पीडित पक्षको समर्थनमा आएका होमराज देउजा र शिव नेपालीको हातमा चोट लागेको छ । अर्का सन्दिप चौधरीलाई गहिरो चोट लागेको छ । उनको हातमा दश टाँका लगाउनु परेको दिलकुमार राईले जानकारी दिए ।
अस्पतलाका प्रबन्धक नारयण दाहालले अस्पतालका चिकित्सकले कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘उपचारको क्रममा चिकित्सकले कुनै लापरवाही गर्नुभएको छैन । पेटभित्र नवजात शिशुको डटडिजिट भएको रहेछ,’ प्रबन्धक दाहालले भने ।