भारतबाट आउनेका कारण कोरोना बढ्ने जोखिम

विराटनगर । भारतमा संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला पर्ने नयाँ हटस्पट बनेकै बेला नेपाल प्रवेश गर्नेहरुको भने लर्को नै लागेको छ । जसरी पनि घर आइपुग्ने हुटहुटीले नाका छिचोलेर भारतबाट नेपाल प्रवेश गर्ने क्रम उच्च छ ।

कामको सिलसिलामा भारत गएका, उपचार, पढाई, भ्रमण लगायतका कारणले भारतीय भूमिमा रहेकाहरु धमाधम नेपाल भित्रिरहेका हुन् । सरकारले नाकामा कडाइ गरेको जनाएको छ । तर, दुवैतर्फको कडाइ मुख्य नाकाहरुमा मात्रै केन्द्रीत बनेको छ ।

लामो र खुला साँधको जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रनेहरुका कारण संक्रमणको जोखिम उच्च भएको हो । मुख्य नाकाबाट भन्दा चोरबाटो हुँदै आउनेहरुको संख्या उच्च छ । उनीहरु निगरानी बेगर नै नेपाल प्रवेश गरिरहेका छन् । प्रदेश १ को राजधानी सहर विराटनगरसँग सीमा जोडिएको रानी नाकाबाट आवतजावत ठप्प छ । तर, अन्यत्रबाट नेपाल भित्रनेको भने लर्को नै छ ।

प्रदेश १ कै सबैभन्दा लामो सीमा क्षेत्र रहेको झापामा समस्या झन् उच्च छ । भारतका दुई राज्य पश्चिम बंगाल र बिहारसँगको १४४ दशमलव ०२ किलोमिटर लामो सीमा क्षेत्रबाट पनि नेपाल भित्रने क्रम जारी छ । सर्वसाधारणका अनुसार मेची खोला र दशगजा क्षेत्रबाट नेपाल भित्रने क्रम जारी छ । ‘यहाँ नेपाल भारत दुवैतिर मकैबारी छ, त्यही मकैबारीको आली आली नेपाल भित्रने धेरै छन्’, झापा गौरीगञ्जका आत्माराम राजवंशीले भने ‘कोही साँझमा, कोही बिहानै आउँछन् ।’ उनका अनुसार खोला क्षेत्रबाट पनि प्रवेश गर्ने क्रम जारी छ ।

भारत बिहारसँग जोडिएको ६५ किलोमिटर लामो सुनसरीको सीमा क्षेत्रबाट पनि आउने क्रम जारी रहेको सीमा क्षेत्रका जनप्रतिनिधि नै बताउँछन् । ‘मुख्य नाका छलेर आउने क्रम देखिन्छ’, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले भने ।

शुक्रबार, २७ चैत, २०७७, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर