धनकुटा । उदयपुर, धनकुटा र भोजपुर जिल्लाको संगमस्थल सप्तकोशी नदीमा रहेको किरात धर्मावलम्बीहरुको आस्थासँग जोडिएको ‘खुवालुङ’ चर्चामा आएसँगै अवलोकनकर्ताको घुइँचो लाग्न थालेको छ ।

प्रधानमन्त्री केपी ओलीले सप्तकोशी नदीमा जलयातायात मार्ग सहज बनाउन नदीभित्र रहेको ठूलो ढुंगा फुटाउने भाषणमार्फत जानकारी गराएपछि ‘खुवालुङ’ चर्चामा आएको हो । चर्चा चुलिएपछि खुवालुङ अवलोकनकर्ता बढेका छन् ।

पहिले ज्यानमारा भनेर चिनिएको ढुंगा किराँत मुन्धुम अनुसार प्राचीन इतिहास बोकेको ‘खुवालुङ’ हो भन्ने खुलेपछि आजकल अवलोकन गर्न जाने पर्यटकहरु बढन थालेका छन । स्थानियका अनुसार आजकल ‘खुवालुङ’को संरक्षणको माग गर्दै संघर्ष गर्न जाने किराँत अगुवाहरु मात्र नभएर अन्य समुदायका मानिसहरु पनि अवलोकनका लागि पुग्न थालेका छन् ।

सुनसरीको चतरादेखि उत्तरमा रहेको कोशी पुल क्षेत्रबाट सप्तकोशी नदीमा साना पानी जहाज (मोटरबोट) सञ्चालन भैरहेका छन् । पहिले पानी जहाजमा चढेर आनन्द लिने पर्यटकहरु आजकल ‘खुवालुङ’ स्थलमा पुगेर अवलोकन पनि गर्ने गरेका छन् । खुवालुङ चर्चामा आएपछि पानीजहाज चढ्ने यात्रुहरु पनि बढ्न थालेको जलयातायातकर्मी खगेन्द्र घिमिरे बताउँछन् ।

‘खुवालुङ’ प्रदेश १ को उदयपुर जिल्लाको मैनामैनी, भोजपुर जिल्लाको शहिदभूमी र धनकुटाको साँगुरीगढी गाउँपालिकाको संगमस्थलमा रहेको सप्तकोशी नदीको त्रिबेणी भन्ने स्थानमा नदीको बिचमा रहेको छ । भर्खरै चर्चामा आएको ‘खुवालुङ’ सुनसरी जिल्लामा सप्तकोशीको तीरमा रहेका हिन्दुधर्मावलम्बीहरुको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रदेखि करिब ५ किलोमिटर उत्तरमा छ । जहाँ उत्तरपश्चिमबाट सुनकोशी, दुधकोशी, भोटेकोशी, तामाकोशीलगायतका नदीहरु मिसिएर बगेर आउँछन् भने उत्तरपूर्वबाट बगेर आएका अरुण र तमोर नदी मिसिएर सप्तकोशीमा परिणत भएको छ ।

खुवालुङको चर्चासँगै पर्यटक , पत्रकार , अधिकारकर्मी र सरोकारवालाहरु अवलोकनमा आउन थालेपछि स्थानीयहरुले उक्त क्षेत्रमा व्यापार पनि थालेका छन् । नदी किनारको बालुवामा स्याउलाको छाप्रो बनाएर स्थानीयले पानी, चटपटे, चिया, विस्कुट, चाउचाउलगायतका सामग्रीहरु बिक्री गरेर मनग्गै आम्दानी गर्न थालेका छन् ।

स्थानीयबासी भानु राईका अनुसार ‘खुवालुङ’ चर्चामा आएपछि हाल दैनिक ५० देखि सय जनासम्म मानिसहरु अवलोकनका लागि आउन थालेका छन् । मानिसहरु चतराको कोशी पुलदेखि पानीजहाज (मोटरबोट) चढेर खुवालुङ पुग्ने गर्दछन् । चर्चामा आउनुअघि मानिसहरु पानीजहाज चढेर भोजपुरको हतुवागढीको सिम्लेसम्म पुग्ने गरेपछि नदीको विचमा रहेको ठूलो ढुंगा ‘खुवालुङ’ हो भनेर अनभिज्ञ थिए ।

किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष तथा ‘खुवालुङ’ संरक्षण समिति संयोजक बलराम राईका अनुसार किराँत भाषामा ‘खुवालुङ’को अर्थ खोला भित्र रहेको ढुंगा हो । ६ हजार वर्ष पहिले किराँत पुर्खाहरुले सप्तकोशी नदी तर्न ‘खुवालुङ’ को पुजा गर्ने गर्दथे । हाल पनि किराँतहरुले उक्त ढुंगालाई पुजा गर्ने र सन्तान भाकल गर्ने गरेका छन ।

किराँत आस्थाको धरोहर भएकोले सो स्थानमा कार्तिक र बैशाख पुर्णिमामा मेला पनि लाग्ने गरेको भोजपुर शहिदभूमी गाउँपालिका १ का कृष्णकुमार राईले बताए । उनका अनुसार पहिले ज्यानमारा भनिदै आएको नदीको विचमा रहेको ढूलो ढुंगा नै किराँत सम्यता र धर्मसँस्कृतिको इतिहास ‘खुवालुङ’हो भनेर मुन्धुम अध्येताहरुले करिब ७ बर्ष अगाडि पत्ता लगाएका थिए ।