आङ्बोहाङको प्रदेशसभा सदस्य खारेज

विराटनगर । नेकपा माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बोहाङको प्रदेशसभा सदस्य पद खारेज भएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट ताप्लेजुङ को १ (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित आङ्बोहाङले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेपछि पार्टीले प्रदेशसभाबाट पदमुक्त गरेको हो ।

प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मन्त्री आङ्बोहाङले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यबाट हटाउन माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गराएको पत्र पढेर सुनाए । सभामुखले प्रदेशसभामा एक प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी दिएसँगै उनी पदमुक्त भएका हुन् ।

आङ्बोहाङ संसद सदस्यको रुपमा मन्त्री नियुक्त भएकोले उनको मन्त्री पद पनि संसद पदसँगै गएको छ । संविधान अनुसार बढिमा ६ महिनासम्म संसद नरहेको व्यक्ति मन्त्री हुन पाउने भएपनि आङ्बोहाङले पुनः नियुक्ति लिएर सपथ गर्नुपर्नेछ ।

प्रदेशसभा सदस्य नभएका व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको छ । ६ महिनाभन्दा बढी प्रदेशसभाको कार्यकाल रहेको अवस्थामा रिक्त पदका लागि उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था पनि छ । त्यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी निर्वाचन आयोगलाई दिने बताइएको छ ।

तत्कालिन नेकपामा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न अगुवाई गरेका आङ्बोहाङ फागुन २३ गतेको सर्बोच्चको आदेशले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । लगत्तै मुख्यमन्त्री राईले उनलाई मन्त्रीमा नियुक्त गरेकामा एक महिना नपुग्दै संसद पद खारेज भएको हो ।

बिहिबार, २६ चैत, २०७७, रातीको १०:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर