विराटनगर । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापकहरुले नै विदेशी प्राध्यापकहरुको अनुसन्धान लेख चोरेर आफ्नो नाममा साभार गरेको खुलेको छ ।
विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसबाट अवकाश प्राप्त प्राध्यापक डा. पर्शुराम मिश्रसहित ७ जनाले फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको ‘क्रिस्टल स्ट्रकचर’ चोरी गरि भारतको जर्नलमा प्रकाशित गरेको खुलेको हो । फ्रान्सेली प्राध्यापक बेलले आफ्नो अनुसन्धान चोरी गरि भारतीय जर्नलमा प्रकाशित गरेको भन्दै विभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टार्डलाई ईमेल मार्फत उजुरी गरेपछि सो बिषय बाहिरिएको हो ।
प्राध्यापक बेलबाट उजुरी परेपछि २०७७ माघ ४ मा त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयबाट प्रा.डा. रामचन्द्र बस्नेतको संयोकत्वमा गठन भएको ३ सदस्यीय छानबिन समितिले सो बिषयमा छानबिन गरेको थियो । छानबिनको क्रममा प्राध्यापक डा. मिश्रसहित अन्य ६ जनाले ११ वटा फ्रान्सेली अनुसन्धान चोरेर भारतीय जर्नलमा प्रकाशित गरेको खुलेको हो ।
जसमा महेन्द्र मोरङ क्याम्पस विराटनगरका अवकाश प्राप्त प्राध्यापक पर्शुराम मिश्रसहित रोहित कुमार देव, जनक अधिकारी र बिमल कुमार कण्ठको पनि संलग्नता देखिएको छ । यसबाहेक सो प्रकरणमा रामस्वरुप रामसागर क्याम्पस जनकपुरका प्राध्यापक हरेराम मिश्रा, ईन्जिनियरिङ संस्थान धरानका प्राध्यापक युवराज साहु र कल्पना मिश्रपनिको सहभागिता देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्राध्यापक पर्शुराम मिश्र केही समयअघि मात्रै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट सेवानिवृत्त भएका रसायनशास्त्रका प्राध्यापक हुन् । त्यस्तै अधिकारी, देव र साहु त्रिभुवन विश्वविद्याललयमै रसायनशास्त्रमा पि.एच.डी गरिरहेका प्राध्यापक हुन ।
उनीहरुले फ्रान्सेली प्राध्यापक बेलद्धारा लिखित ११ वटै अनुसन्धान लेखको हातखुट्टा परिवर्तन गरि भारतीय जर्नलमा साभार गरेको अनुसन्धानले देखाएको छ । जसमा प्राध्यापक मिश्र ‘लेखक’ र बाँकी ६ जना प्राध्यापकहरु फरक–फरक लेखको ‘कोअर्थर’ को रुपमा देखिएको अनुसन्धानबाट पुष्टि भएको छ । यसबाट विश्वविद्यालयको गरिमालाई चोट पुगेको विश्वविद्यालयको ठहर छ ।
कारबाही थालियो
फ्रान्सेली प्राध्यापक बेलद्धारा लिखित अनुसन्धान लेखहरु भारतीय जर्नलमा अनाधिकृत रुपमा साभार गरेको पुष्टि भएपछि छानबिन समितिको सिफारिश बमोजिम त्रि.वि.ले कारबाही गर्ने निर्णय गरेको छ । त्रि.वि.ले अनाधिकृत रुपमा साभार गरिएका लेखहरुलाई तत्काले रद्द गर्दै प्रा.डा.मिश्रसहित सो प्रकरणमा संलग्न सबैलाई सचेत गराउने निर्णय गरेको छ ।
यस्तै त्रि.वि.ले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकको रुपमा कार्यरत रोहित कुमार देवलाई पनि आगामी २ बर्षसम्म कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छानबिन समितिका संयोजक प्रा.डा. रामचन्द्र बस्नेतले बताउनुभयो । प्रा.डा.पर्शुराम मिश्र लगायत सो प्रकरणमा सबैलाई आगामी २ बर्षसम्म सम्पुर्ण अनुसन्धानात्मक क्रियाकलापमा समेत प्रतिबन्ध लगाउने निर्णय भएको छ, उहाँले भन्नुभयो, ‘उहाँहरुले आगामी २ बर्षसम्म विद्यार्थीहरुको सुपरिवेक्षण र थेसिस गाईड लगायतका शैक्षिक क्रियाकलाप गर्न पाउनुहुने छैन् ।’
यस्तै छानबिन समितिले भने अनाधिकृत रुपमा प्रकाशन गरिएका उपरोक्त लेखहरुलाई भने विश्वविद्यालयको सेवा प्रयोजनका लागी मुल्याङ्कन नगर्न तथा सो बारे अन्य विश्वविद्यालयहरुलाई समेत जानकारी गराउन सिफारिश गरेको छ ।