विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोेरङको मिक्लाजुङमा अपाङ्गता भएका एक जना पुरूषको मृत्यु भएको छ ।

गाउँमा पसेको हात्तीले आक्रमण गर्दा मिक्लाजुङ गाउँपालिका–६ थामीझोडाका ४९ वर्षे यामबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बोहोरा कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएका व्यक्ति हुन् । छिमेकी मनबहादुर मगरको घरमा टिभी हेरेर श्रीमती सावित्रा कार्कीसहित आफ्नो घरतर्फ फर्कने क्रममा उनलाई राति १० बजेतिर हात्तीले आक्रमण गरेर घाइते बनाएको खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि मधुमल्लातर्फ ल्याउँदै गर्दा बाटैमा बोहोराको राति ११ बजेतिर मृत्यु भएको हो । श्रीमानलाई हात्तीले लछारेर आक्रमण गर्न थालेपछि आत्तिएकी श्रीमती सावित्रा भने भागेर बाँच्न सफल हुनुभएको छ ।

सावित्रा पनि कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएकी महिला हुन् । बोल्न र सुन्न नसक्ने अवस्थाका श्रीमान श्रीमती अरुसँग इसाराले मात्रै दोहोरो संवाद एवं कुराकानी गर्न सक्थे । रातको समयमा एक्कासी हात्तीसँग जम्काभेट भएपछि सावित्रा भने भागेर बाँच्न सफल हुनुभएको हो ।
आत्तिएर र तर्सिएर छिमेकीको शरणमा पुग्नुभएको सावित्राले गाउँ पसेको जंगली हात्तीले श्रीमानलाई लछारेर आक्रमण गरेको जानकारी गराउनुभएको थियो । स्थानीय बासिन्दाले होहल्ला गर्न थालेपछि हात्ती जङ्गलतर्फ भागेको थियो । मृतकका २७ र २२ वर्षीय छोराहरु छन् । दुवै जना अविवाहित हुन् ।

जेठो छोरा वैदेशिक रोजगारीमा छन् । कान्छो बाबुआमासँग घरमै बस्थे । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण जीविका चलाउन बोहोरा परिवारले खेतिकिसानी र ज्याला मजदुरी गर्नु पर्ने अवस्था रहेको स्थानीय बासिन्दाले बताए ।

प्रहरी निरीक्षक देवका अनुसार मृतकको छात्ती, पिठ्यूँ लगायत शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोट एवं दागहरु भेटिएका छन् । शव पोस्टमार्टमका लागि उर्लाबारीकै मंगलबारे अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ । घटनास्थलमा हात्तीको पाइलाका डोबहरु भेटिएका छन् । घटनापछि हात्ती कतातिर लाग्यो भन्ने यकिन हुन नसकेको र पाइलाको डोब हेर्दा उत्तरतर्फ गएजस्तो देखिने मृतकका दाजु ठन्डबहादुर बोहोराले बताउनुभयो ।

ठन्डबहादुरका अनुसार यसअघि पनि पटक–पटक गाउँ पसेर जंगली हात्तीले वितण्डा मच्चाए दुःख दिँदै आएको थियो । हात्तीका बथान नै जंगलबाट गाउँ पसेर सर्वसाधारणको घर भत्काइदिने, बालीनाली खाइदिने र घरमा भएका अन्न खाइदिएर क्षति पु¥याउने तथा आतंक मच्चाउने गर्दै आए पनि नियन्त्रणमा कसैले चासो नदिएको उहाँको गुनासो छ ।