लोड हुँदैछ...

मेनु

वातावरणीय प्रदूषण

शिक्षण संस्था बन्द गर्ने निर्णय विराटनगरद्वारा अस्वीकार

शिक्षण संस्था बन्द गर्ने निर्णय विराटनगरद्वारा अस्वीकार

विराटनगर । वातावरणीय प्रदूषणका कारण चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई विराटनगर महानगरपालिकाले अस्वीकार गरेको छ ।

शिक्षा मन्त्रालयले गरेको उक्त निर्णयप्रति असहमति राख्दै विराटनगर महानगरपालिका शैक्षिम प्रशासन महाशाखाले सूचना जारी गर्दै त्यसखालको प्रदूषणको प्रभाव विराटनगरमा नदेखिएकोले शिक्षण संस्था नियमित चल्ने जनाएको हो ।

‘शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयद्वारा मिति २०७७/१२/१६ गतेको प्रेस विज्ञप्तिमा वायु मण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यालयहरु २०७७/१२/२० सम्म बन्द हुने सूचना जारी गरिए तापनि यस महानगरपालिकामा त्यस प्रकारको वातावरणीय असहज अवस्था उत्पन्न नभइसकेको तथा कोभिड १९ को महामारीले लामो समय विद्यालय बन्द भइ भर्खरै चालू शैक्षिक सत्रमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनले गति लिइरहेकोतर्फ मध्यनजर गर्दै यस महानगरपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्थाहरु नियमित सञ्चालन गर्न गराउन निर्देशानुसार सूचित गरिएको छ,’ नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको जनाएको छ ।

देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको उनीहरुले बताएका छन् । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षण संस्था बन्दको निर्णयअघि मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगतै मन्त्रालयमा बैठक राखेर लाखौं विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए । अब सबै शिक्षण संस्था अर्को आइतबारमात्र सञ्चालन हुने जनाएको थियो ।

संघीय सरकारको यो निर्णयप्रति सरोकारवाला निकायहरुले भने असन्तुष्टि जनाएका छन् । केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनीहरुको भनाइ छ । सोही समयमा विराटनगर महानगरपालिकाले औपचारिक सूचना जारी गरेरै विद्यालय संचालन गर्ने जनाएको हो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Uddhav raj koirala
March 29, 2021 10:56 PM

नगरपालिकाको चिठी गलत भएको लाग्यो मलाई सब ठिक नै छ तर चलान नम्बर चै नभएको हुनाले यश चिठीलाई के सम्झिने पत्रकार ज्यू ।

प्रतिक्रियाहरू बन्द छन्।