विराटनगर । रङहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लामा आज भव्य रुपमा मनाइँदैछ ।
पहाडी जिल्लामा हिंजौ होली मनाइएको छ । तराई मधेसका जिल्लामा भने आज होली मनाउन लागिएको हो । होलीका अवसरमा सरकारले आज एक दिन तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।
होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोरोना संक्रमणको जोखिमका कारण भीडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

