कटहरीबाट सुरु भयो माओवादी केन्द्र पुनर्संगठन अभियान

विराटनगर । नेकपा माओवादी केन्द्र कटहरी गाउँ कमिटीले शनिबार बिस्तारित बैठक आयोजना गरी पार्टी कमिटीलाई पूर्णता दिएको छ । पार्टी संगठन सम्बन्धी कुनै निर्णय नगरी केन्द्रीय कमिटीको बैठक सम्पन्न भएपछि देशभरमै पहिलो पटक गाउँ कमिटीलाई पूर्णता दिएर माओवादी केन्द्र संगठन विस्तार अभियानमा जुटेको हो ।

कटहरी गाउँपालिकामा आयोजित विस्तारित बैठकले कटहरी गाउँपालिका वडा नम्बर २ का वार्ड अध्यक्ष किशोरकुमार पाण्डेको अध्यक्षता ५३ सदस्यीय गाउँकमिटी गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि एकता पूर्वको अवस्थामै पूनसर््थापित भएको माओवादी केन्द्रका आम कार्यकर्ताहरुलाई संगठित गर्न जरुरी भएकोले गाउँ कमिटी बिस्तार गरेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँले गाउँपालिका भित्र हरेक वार्ड र टोलहरुमा पार्टी कमिटी गठन प्रकृयालाई तिब्रता दिइने जानकारी पनि दिनुभयो ।

कटहरी गाउँपालिकामा ५०० भन्दा बढी संगठित सदस्य रहेको जानकारी दिँदै पाण्डेले एक हजार पार्टी सदस्य बनाउने लक्ष्यसहित अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

बिस्तारित बैठकमा अध्यक्ष पाण्डेले सामाजिक न्याय ,समानता, दिगो बिकास , तथा समजबाद उन्मुख समाज निर्माणमा सबैको भूमिका सहित को सामाजिक रूपांतरणका लागि जनताको बीचमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले जनताका जनजीविकाको सवाल, सामाजिक विभेद र कुरिती जस्ता विषयमा पार्टीले जनतालाई जागरुक बनाउने पनि बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल, मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी लगायतका नेताहरुको उपस्थितिमा बिस्तारित बैठक सम्पन्न भएको थियो ।

आइतबार, १५ चैत, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर