विराटनगर । शेरधन राई नेतृत्वको प्रदेश १ सरकारको मन्त्रीपरिषद आज विस्तार हुने भएको छ ।
नेकपा विवाद पछि प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले राजिनामा दिएपछि ५ सदस्यीय रहेको प्रदेश मन्त्रीपरिषदमा ५ जना थप गर्ने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टंक आङ्बुहाङले जिम्मेवारी पाउने भएका छन् । माओवादी केन्द्रले उनको संसद पद खारेजको प्रक्रिया सुरु गरिसकेकोले उनी ६ महिनाको लागि मात्र मन्त्री बन्न पाउनेछन् ।
यस्तै सामाजिक विकास मन्त्रीमा खोटाङकी उषाकला राई नियुक्त हुने भएकी छिन् । उनी यसअघि माधव नेपाल समूहमा रहेपनि समूह परिवर्तन गर्दै ओली समूहमा लागेकी थिइन् । त्यही बेला उनलाई मन्त्री बनाउने आश्वासन सहित समूह परिवर्तन गराइएको चर्चा चलेको थियो ।
यस्तै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा राम राना नियुक्त हुने भएका छन् । उनी यस अघि सोही मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालीरहेका थिए भने सो मन्त्रालयको नेतृत्व मुख्यमन्त्री शेरधन राई आफैंले लिएका थिए ।
मुख्यमन्त्री राईले आफैं नेतृत्व गरेर आफ्ना विश्वास पात्र अम्बिरबाबु गुरुङलाई राज्यमन्त्री बनाएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनै गुरुङलाई नै मन्त्री नियुक्त गर्ने भएका छन् । प्रदेश सरकारको आधा भन्दा बढी बजेट परिचालन गर्ने सो मन्त्रालयको पूर्ण नेतृत्व विवादित पात्र गुरुङले पाउने भएका हुन् ।
सरकार विस्तारमा यसअघि माधवसमूह छोडेर ओली समूहमा प्रवेश गरेका अन्य २ जना पनि राज्यमन्त्रीको रुपमा पुरस्कृत हुने भएका छन् । मोरङका राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री र उदयपुरकी कला घलेले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसैगरी मोरङका ज्ञानेश्वर राजवंशीले पनि राज्यमन्त्रीको जिम्मेवारी पाउने स्रोतले जनाएको छ ।
यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजिनामा दिएर मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए ।