विराटनगर । सञ्चालन खर्च जुटाउन नसकेर सरकारसँग अनुदान माग्दै आएको विराटनगरस्थित कोशी अस्पतालको आन्तरिक आम्दानी बढेको छ । अस्पतालबाट उपचार सेवा लिने बिरामीको संख्यामा उल्लेख्य वृद्धि नभएपनि आम्दानीमा भने राम्रो सुधार भएको छ ।
आन्तरिक आम्दानीबाट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तलब भुक्तानी गर्नसमेत नसक्ने अवस्थामा रहेको अस्पतालले पछिल्लो चार महिनादेखि आफ्नै आम्दानीबाट तलब खुवाउन सक्षम भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिएका छन् । ‘हामी सञ्चालक समितिमा आउँदा उपचारका लागि छुट माग्न आउनेहरुको ताँती हुन्थ्यो, अहिले त्यो घटेको छ,’ उनले भने, ‘छुट माग्न आउनेलाई स्वाथ्य बीमा गर्न आग्रह गर्ने गरेका छौं, अहिले बिमामार्फत उपचार सेवा लिनेहरु बढेपछि अस्पतालको आम्दानीमा पनि सुधार भएको छ ।’
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि बीमा गराउने सर्वसाधारणको संख्या बढेको छ । कोशी अस्पतालमा उपचार सेवा लिन आउने सरदर ६५ प्रतिशत सेवाग्राहीले स्वास्थ्य बीमा गराएको पाइएको छ ।
अस्पतालबाट फागुन महिनामा १९ हजार ३१५ जनाले बहिरंग (ओपीडी) सेवा लिएका थिए । हरेक महिना १८ हजारदेखि २२ हजार व्यक्तिले अस्पतालबाट ओपीडी सेवा लिँदै आइरहेका छन् । यसरी उपचार गराउनेमध्ये बीमामार्फत उपचार शुल्क भुक्तानी गर्ने सेवाग्राहीले तोकिएको शुल्क पूर्णरुपमा भुक्तानी गर्ने र अस्पतालसँग छुट सुविधा माग नगर्ने हुँदा अस्पतालको आम्दानीमा निरन्तर सुधार भइरहेको छ ।
अस्पतालको आम्दानीको मुख्य स्रोतको रुपमा प्याथोलोजी ल्याब, रेडियोलोजी सेवा, सिटी स्क्यान सेवा आदिबाट चालु वर्षको ८ महिनामा ९ करोड १५ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै तीन करोडले बढी हो ।
चालु वर्षको दोश्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म कोशी अस्पतालको प्याथोलोजी प्रयोगशाला परीक्षण र वायोकेमेस्ट्रि सेवाबाट मात्र ३ करोड ४३ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै भिडियो एक्स–रे सेवाबाट अस्पतालले ८ महिनामा ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ भने एक्स–रे सेवाबाट ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
अस्पतालले पछिल्लो समय सिटि स्क्यान सेवाबाट पनि आम्दानी बढाएको छ । पछिल्लो ८ महिनामा ५३ लाख ९० हजार ३०० रुपैयाँ सिटि स्क्यान सेवा दिएवापत आम्दानी गरेको छ । विगतमा अस्पतालले बिरामीहरुलाई सबैभन्दा धेरै छुट सुविधा दिनुपर्ने प्याथोलोजी, रेडियोलोजी, वेड चार्ज आदिमा अहिले अस्पताललाई खास चाप छैन । बीमामार्फत भुक्तानी हुँदा बिरामीलाई निःशुल्क उपचार सेवा पाएको अनुभूति हुने र अस्पतालले पनि निर्धारित शुल्क अशुल्न सहज भएपछि आम्दानी बढेको हो ।
बीमामार्फत सेवा लिने बिरामीको चाप बढेपनि सहज सेवा प्रदान गर्नेतर्फ भने अस्पतालले ध्यान दिएको छैन । सेवा लिएवापत तोकिएको शुल्क भुक्तानी गरेका सेवाग्राहीहरु हरेक सेवा लिन छुट्टाछुट्टै लाइनमा बस्न बाध्य हुने गरेका छन् । बहिरंग विभागबाट सेवा लिनका लागि पुर्जी काट्न लामो लाइन लागेको बिरामी चिकित्सकीय सेवा लिन उतिकै लामो समय लाइनमा बस्नुपर्छ ।
‘त्यसपछि लाइन बस्ने क्रम सकिदैन, झन् थपिन्छ’ बिराटनगर ३ का टेकनाथ ढकालले भने ‘बल्लतल्ल डाक्टरलाई भेट्यो, त्यसपछि रगत जाँच गर्न लाइन, पिसाब जाँच गर्न लाइन, एक्स–रे वा भिडियो एक्स–रे मा लाइन, त्यसपछि बिमा कार्ड फिर्ता लिन र पुर्जीमा औषधिका लागि बीमाको छाप लगाउन लाइन अनि औषधि पसलमा लाइन बस्दा बिरामी वा उसको सहयोगी नै बिरामी परिसक्छ ।’ अस्पताल प्रशासनले भने यसतर्फ खास ध्यान दिएको छैन ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष भट्टराईले पूर्वाधार अभावले गर्दा व्यवस्थापनमा कठिनाई भएको बताएका छन् । उनले सेवा प्रवाहमा सुधार गर्दै अब नयाँ पूर्वाधार निर्माण गर्नेतर्फ ध्यान केन्द्रीत गरेको जानकारी दिए । अस्पतालले छिट्टै साढे चार तल्ले आधुनिक भवन निर्माणको काम अघि बढाउन लागेको भन्दै अध्यक्ष भट्टराईले भने ‘मेडिकल वार्ड भएको भवन र अहिले ओपीडी सेवा सञ्चालन भइरहेको भवनमा पनि अर्को तला थप गर्ने प्रक्रिया अगाडि बढेको छ । त्यसपछि अहिले देखिएको व्यवस्थापनको समस्या समाधान हुन्छ ।’