विराटनगर । विराटनगर महानगरपालिका–२ मेनरोडस्थित विराटनगर महानगरपालिकाको कार्यालय अगाडि चोरी भएको छ ।
जुनसुकै बेला पनि सुरक्षागार्डको निगरानीमा रहने महानगरपालिकाको कार्यालय अगाडिको विनोद पान पसलमा बुधबार राति चोरी भएको हो ।
विनोद राजवंशीले सञ्चालन गरेको पसल महानगरको मुल गेटबाट अन्दाजी १० मिटरजति अगाडि मात्रै छ । राति झलमल बत्ति बल्ने र परिचालित सुरक्षागार्डले प्रत्यक्ष देख्नसक्ने स्थानमा चोरी भएपछि घटनालाई शंकास्पद मानिएको छ ।
प्रहरीले रातको समयमा चोरी भएको हुनसक्ने बताएको छ । प्रहरीले सुरक्षागार्ड निदाएका बेलामाा वा मिलेमतोमा घटना भएको हुनसक्ने आशंका गरेको छ । पसलबाट रजनीगन्धा, चुरोट तथा किराना सामान चोरी भएको बताइए पनि कति रुपैयाँ बराबरको सामान चोरियो भन्ने खुलेको छैन ।
पान पसलमै सटेको चिया–नास्ता पसल खुलेपछि बिहीबार बिहान चोरी भएको पत्ता लागेको हो । कमजोर बारबेरा रहेको चिया पसलबाट छिरेर टिनको ढकनलाई ह्याक्सोले काटेर चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट वडा प्रहरी कार्यालय पनि लगभग ३ सय मिटर मात्रै दक्षिणमा छ । आँखै अगाडि रातको समयमा चोरी हुँदा पनि महानगरको मुलगेटमा २४ घण्टा नै रहने सुरक्षागार्डले थाहा नपाएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धानको दायरा फराकिलो पारिएको जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए । चोरीमा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको उनको भनाइ छ ।

