अदालतबाट हत्कडीसहित थुनुवा फरार

विराटनगर । प्रहरी नियन्त्रणमा रहेका लागुऔषधका दुई थुनुवा जिल्ला अदालत मोरङको परिसरबाट फरार भएका छन् । मोरङको कटहरी कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी हत्कडीसहित फरार भएका हुन् ।

लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका उनीहरुको म्याद थप भएपछि फरार भएको मोरङ प्रहरीले जनाएको छ । सोमबार अपरान्ह ३ः३० बजेतिर म्याद थप गर्न लिएर गएको प्रहरी टोलीको आँखा छल्दै उनीहरु भागेकोमा म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर मात्र घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी दिएको थियो ।

फरार भएकाहरुको खोजी थालिएको भएपनि उनीहरु फेला परेका छैनन् । उनीहरु भारततिर भागेको हुनसक्ने आशङ्का गरिएको छ । सबैतिर नाका सिल गर्दै विभिन्न प्रहरी कार्यालयलाई जानकारी गराएर भागेका थुनुवाको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट ८ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको थियो । त्यस्तै चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका हुन् ।

दुबै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो । अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदैगर्दा झुक्याएर दुबै जना फरार भएको प्रहरीको भनाइ छ ।

म्याद थप भएपछि चियानास्ता गर्ने बताएपछि उनीहरुलाई अदालत परिसरमै रहेको क्यान्टिनमा प्रहरीले लगेको थियो । खाजा खाइरहेको बेला उनीहरु फरार भएको बताइएको छ । खाजा खाने बेलामा प्रहरीले एक जनाको हातबाट हत्कडी खोलेको थियो भने अर्का थुनुवा हातमा झुन्डिएको हत्कडी लिएरै भागेका हुन् ।

गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रुपमा लिएर अनुसन्धान थालिएको जनाएको छ । भागेका दुबै जनाले खाजा खानुअघि प्रहरीको मोबाइल मागेर केही व्यक्तिहरुलाई फोन गरेकोले त्यसमाथि अनुसन्धान भइरहेको छ । थुनुवालाई म्याद थप गर्नका लागि लिएर जाने र लापरबाही गर्ने केही प्रहरीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ तथा छानबिन थालिएको छ ।

मङ्गलबार, ११ फागुन, २०७७, दिउँसोको ०२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर