काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको सिफारिश गर्ने सरकारको कदम अधिनायकवादउन्मुख भएको बताउनुभएको छ ।
संसद् विघटनको असंवैधानिक कदमको कांग्रेसले राजनीतिक प्रतिवाद गर्ने देउवाले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिश गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया लेख्दै देउवाले अधिनायकवादउन्मुख कदमप्रति आफूहरूको गम्भीर असहमति रहेको उल्लेख गर्नुभएको छ । ‘प्रतिनिधिसभा विघटनको सिफारिश असंवैधानिक छ । अधिनायकवादउन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ । संविधानविपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ,’ देउवाले लेख्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेश लिने भन्दै संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो ।