संकटमा परेपछि प्रधानमन्त्री ओलीको दौडधुप

काठमाडौं । अन्य समयमा पार्टीका नेताहरुलाई वास्ता नगर्ने र भेट नै नदिने भन्दै आलोचित प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दौडधुप बढेको छ ।

आफ्नै कारणले नेकपाभित्रको विवाद बढ्दै गएर पद नै संकटमा पर्ने देखिएपछि प्रधानमन्त्री ओलीले छलफल र भेटवार्ता बढाउनुभएको छ ।

शुक्रबार राष्ट्रपति विद्या भण्डारीसँग लामो भेट गर्नुभएका प्रधानमनत्री ओलीले शनिबार विहान नेकपाका अर्का अध्यक्ष प्रचण्डको निवास खुमटार पुगेर छलफल गर्नुभयो । प्रायः आफ्नो निवास बाहिर नजाने प्रधानमन्त्री ओली शनिबार प्रचण्ड निवासको भेट सकेटर पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापा बादलको क्वाटरमा पुग्नुभयो । त्यहाँ उहाँले गृहमन्त्री थापासहित पाँच मन्त्रीहरुसँग छलफल गर्नुभयो ।

पार्टीको स्थायी समिति बैठक चलिरहेको बेला नियमित संसद अधिवेशनको मुखमा छापामार शैलीमा संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि चर्किएको नेकपा विवाद अझै मत्थर भएको छ । विवादबीच पुस १ नेकपाका ८३ जना सांसदले विषेश अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा समावेदन दिएपछि ओलीले अध्यादेश फिर्ताको सहमति जनाउनुभएको थियो । उक्त सहमतिलाई सो दिनको स्थायी समिति बैठकले पारित गरेको भएपनि अध्यादेश फिर्ता भएको छैन ।

स्थायी समितिको निर्णय अनुसार अध्यादेश फिर्ता लिनुपर्नेमा बिहीबार ओलीले संवैधानिक परिषदको बैठक राखेपछि थप विवाद चर्किएको छ । पार्टीको निर्णय उल्लंघनको निरन्तरता नरोकिएपछि अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब कठोर बन्ने तयारीमा छन् । त्यसको संकेत नेताहरुले शुक्रबार प्रदेश १ का नेताहरुको भेलामा गरिसकेका छन् ।

पार्टीमा पडक कायम राख्ने र सरकार आफ्नो इच्छा अनुसार सञ्चालन गर्न प्रयोग गरिएका सबै अस्त्र असफल भएपछि प्रधानमन्त्री ओली नेताहरुलाई फकाउने प्रयासमा हुनुहुन्छ । त्यसकै लागि उहाँ शनिबार खुमलटार पुग्नुभएको थियो । तर, छलफलमा कुनै सहमति भएन । प्रचण्डको सचिबालयका अनुसार ओलीले प्रचण्डको प्रतिवेदन फिर्ता गर्नुपर्ने पुरानै माग राख्दा प्रचण्डले त्यसबारे बैठकले निर्णय गर्ने जवाफ दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोकमा पुगेर भेटवार्ता गर्नुभयो । पुल्चोकमा पुगेर गृहमन्त्री बादलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल र कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेसँग प्रधानमन्त्रीको छलफल भएको हो ।

खुमलटारमा अध्यक्षद्धयको भेटवार्ताको क्रममा उपाध्यक्ष वामदेव गौतम पनि प्रवेश गर्नुभएको थियो । उहाँहरुबीच करिब डेढ घण्टा छलफल भएको थियो भने प्रधानमन्त्री र उपाध्यक्ष गौतम निस्किएपछि नेकपा वरिष्ट नेता माधबकुमार नेपाल खुमलटार पुग्नुभएको थियो ।

नेता नेपालले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीसँग भएको छलफलको विषयमा जानकारी लिएको स्रोतले बतायो। दुई नेताबीच पार्टीभित्रको विवाद चकिँरहेको र प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनका लागि आलटाल गरिरहेको अवस्थामा आइतबारको स्थायी कमिटीको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ।

शनिबार, ०४ पुष, २०७७, दिउँसोको ०३:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर