‘ओलीलाई आचरणको सर्टिफिकेट दिने हैसियत अरु नेतासँग छैन’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी ओलीलाई विधि, प्रकृया र अचरणको सर्टिफिकेट दिने हैसियत नेताहरुसँग नरहेको बताउनुभएको छ ।

गुटगत भेलाहरुलाई सम्वोधन र संयोजन गर्दै प्रदेशमा आउनुभएका नेता बास्कोटाले आज बिहान आयोजित पत्रकार भेटघाटमा केपी ओलीलाई नेपाली जनताले मात्र क्यारेक्टर सर्टिफिके दिने जिकिर गर्नुभयो । ‘प्रधानमन्त्री केपी ओलीलाई साथीहरुले दिने ? त्यो सम्भव छैन,’ बास्कोटाले भन्नुभयो केपी ओलीलाई नेपाली जनताले क्यारेक्टर सर्टिफिकेट दिन्छन् ।’

पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउन खोजिएकोप्रति उहाँले विरोध जनाउनुभयो । बहुमत र अल्पमतले पार्टीलाई दुर्घटनामा पुर्याउने दावी गर्दै त्यसतर्फ जाने हो भने आउने चुनौति पार्टीहरुले व्यहोर्न तयार हुनुपर्ने उहाँको भनाई थियो । ‘यदि दुर्घटना गराउने हो भने अल्पमत बहुमत गरौं, नगरी भएको छैन कसैलाई भने गरौं,’ उहाँले भन्नुभयो ‘दुर्घटना नै गर्ने हो भने रामराम भनौं, ऐया न आत्था ।’ त्यसपछि पुस्तान्तरणको कुरा उठेको छ नयाँ पुस्ताले पार्टी नयाँ ढंगले चलाउँछ ।’

पार्टीभित्र विवाद भयो भन्दैमा प्रधान्मन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने उहाँले बताउनुभयो । विधि, प्रकृया भनेकै नेतृत्व मधाधिवेशनबाट परिवर्तन हुने र प्रधानमन्त्री आम निर्वाचनबाट परिवर्तन हुने बास्कोटाको दावी थियो । ‘उहिल्यै सिपि मैनालीलाई पाँचसात जना मिलेर फालेजस्तो अहिले सकिदैन, त्यसरी फाल्न थाल्ने हो भने नातिलाई डोको जिम्मा लगाए जस्तो हुन्छ नातिले पनि फाल्छ,’ उहाँले भन्नुभयो ‘ उहाँहरु पाँच जनालाई जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन ।’

नेता बास्कोटाले प्रधानमन्त्री फेर्ने हो भनेपनि संसदीय दल फेस गर्नुपर्ने उहाँको भनाई थियो । यद्यपी प्रधानमन्त्री ओली संसदीय दलको सामना गर्न तयार रहेनरहेको बारेमा भने केही बताउनुभएन ।
पत्रकार भेटघाटकै क्रममा उहाँले मुलुकलाई जबरजस्ती हिंसामा लैजाने र व्यक्तिहत्या गर्ने प्रत्यन भएको भन्दै विप्लव समूहको कृयाकलापप्रति विरोध जनाउनुभयो । उहाँले मोरङको मिक्लाजुङमा शिक्षक हत्याको विरोध गर्दै व्यक्तिहत्या अस्वीकार्य हुने बताउनुभयो ।

सत्तारुढ दलमा विवाद देखिएको मौकामा देशमा राजा फर्काउने नाममा स्वस्थानी कथा बाचन हुनथालेको टिप्पणी गर्दै उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र प्रजातन्त्रमा विप्लवको जस्तो व्यक्तिहत्या स्वीकार्य नहुने टिप्पणी गर्नुभयो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि पछिल्ला दिनमा भइरहेको टिप्पणी र लागेको आरोपका बारेमा कुनै प्रतिकृया नदिने भन्दै उहाँले भन्नुभयो ‘मेरो विषयमा आरोप लागेपछि मैले ४८ घण्टा नबित्दै राजिनामा दिएं तर मबाट सिक्नुस् भनेर त म आदर्शवान नेताहरुलाई कसरी भन्न सक्छु र ? त्यसमा पनि केपी ओली जस्तो व्यक्तिलाई सर्टिफिकेट दिने नेताहरुले के गर्नु पर्ने हो गर्नुहोला ।’

आइतबार, २८ मंसिर, २०७७, दिउँसोको १२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर