प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज मध्यान्ह भेटवार्ता भएको छ ।

पार्टी सचिवालय बैठक बोलाउन माग गर्दै अध्यक्ष प्रचण्डसहित पाँच नेताले संयुक्त निवेदन दिएपछि त्यसको जवाफ दिनु अघि कार्तिक २५ पछि दुई अध्यक्षबीच भेट भएको हो । २५ दिन लामो संवादहीनता अन्त्य गर्दै दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट र पार्टी भित्र देखिएका समस्या समाधानका विषयमा एक्लाएक्लै छलफल भएको हो ।

मंसिर १७ गते बोलाइएको सचिवालय बैठकमा अध्यक्ष ओली उपस्थित नभएपछि २० गतेका लागि अर्को बैठकको मिति तोक्दै उक्त बैठक स्थगित भएको थियो । आज १ बजे बैठक बस्नु अघि दुई अध्यक्षबीच भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

सहमति नभई बैठकमा उपस्थित नहुने अडान राख्दै आउनु भएका प्रधानमन्त्री ओली यो भेटपछि बैठकमा आउनु हुन्छ वा हुन्न भन्ने कुराले नेकपाको विवाद आगामी दिनमा कसरी बढ्छ भन्ने अनुमान गर्न सकिन्छ ।

अध्यक्ष प्रचण्ड बालुवाटार जानु अघि बैठक माग गर्दै आउनुभएका बहुमत सचिवालय सदस्यहबीच परामर्श गर्नुभएको थियो ।

आज बस्ने नेकपाको सचिवालय बैठकमा दुवै अध्यक्षले पेश गर्नुभएको प्रस्तावमा छलफल गर्ने कार्यसूचि तय भएको छ ।

शनिबार, २० मंसिर, २०७७, दिउँसोको ०१:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर