सचिबालय बैठकमा ओली अनुपस्थित, सहमति खोज्न तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधाबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ ।

प्रधानमन्त्री ओली र महासचिब विष्णु पौडेलको कार्यव्यस्थताको कारण भन्दै १ बजे बस्ने तय भएको बैठक २ बजेको लागि सारिएकोमा उहाँ अनुपस्थित हुनुभएको हो । ओली अनुपस्थित भएपछि बुधबारको बैठक केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिबालय बैठक २० गतेको लागि स्थगित भएपछि बिहीबार बस्ने भनिएको स्थायी समिति बैठक २१ गते बस्ने तय भएको छ । पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका साथ आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितिको अपेक्षासहित बुधबारको बैठक सकिएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा उनले पेश गरेका प्रस्ताव छलफल गर्नु सान्दर्भिक नहुने भन्दै २० गतेसम्मका लागि बैठक सारिएको वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले यसअघि बैठकमा प्रधानमन्त्री सहभागी हुने जानकारी दिनुभएको थियो । प्रधानमन्त्रीको कार्यव्यस्थताको कारण १ बजेको लागि तय भएको बैठक २ बजेलाई सारिएको जानकारी उहाँले सार्वजनिक गर्नुभएकोमा अन्तिम समयमा प्रधानमन्त्री बैठकमा सहभागी नहुनुको कारण खुलेको छैन ।

बुधबार, १७ मंसिर, २०७७, दिउँसोको ०३:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर