विराटनगर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २८ गते सचिबालयको बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न आरोपसहित पेश गरेको प्रस्तावको जवाफमा ३८ पेजको जवाफ शनिबारको बैठकमा पेश गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिबालय बैठकमा अध्यक्ष प्रचण्डमाथि प्रश्नहरुको वर्षा गर्दै ओलीले गुटबन्दी अन्त्य गरेर पार्टीको महाधिवेशनमा जुट्नुपर्ने उल्लेख गर्नुभएको छ ।
प्रचण्डसहितका सचिबालयका बहुमत नेताहरुले उठाएका सवालहरु अस्वीकार गर्दै ओलीले आफ्नो कुनैपनि कमजोरी र दोष नभएको जिकिर गर्नुभएको छ । उहाँले ‘यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ?ः वाद–प्रतिवाद–संवादको बाटो लिएको कि वाद–प्रतिवाद र विग्रहको ? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको ? जस्ता दर्जनौं प्रश्न उठाउनुभएको छ ।
विवादको स्वरुपले समाधानको विधि तय भन्दै ओलीले पार्टीभित्रका असहमतिहरुलाई प्रचण्डले शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको आरोप ओलीका छ । प्रचण्डले पेश गरेको प्रस्ताव राजनीतिक नभएको र आफूमाथिको अभियोगपत्र मात्र भएको उहाँको दावी छ । त्यसले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको उहाँको भनाइ छ ।
प्रचण्डले पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी र सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीत प्रस्ताव ल्याएको ओलीको दावी छ ।
ओलीले कि आरोप पुष्टि गरेर आपूmलाई कार्बाही गर्न कि पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न चेतावनी दिनुभएको छ ।
पूर्णपाठOli Prastab