काठमाडौँ । विवाद उत्कर्षमा पुगेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच सचिवालयको अनौपचारिक बैठक बोलाउनुभएको छ ।
ओलीले बैठक बस्न नमानेपछि प्रचण्डले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाउनुभएको हो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले बैठक बोलाउनुभएको हो। बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको छ ।
बिहीबार दुई अध्यक्षबीच भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले तत्काल बैठक बोलाएर पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर, अर्का अध्यक्ष ओलीले बैठक आवश्यक नरहेको भन्दै अस्वीकार गरेपछी नेकपाभित्रको समस्या थप पेचिलो बनेको छ ।
यसअघि बसेको स्थायी समिती बैठकको निर्णय उल्लङ्घन गर्दै एकलौटी चलेका ओलीले पार्टी बिभाजनको प्रस्ताव गरेपछि नेकपाको एकताबारे गम्भीर प्रश्न उठेको छ ।