विराटनगर । भारतमा जारी इन्डिययन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजीको अवैध धन्दा चलाएको आरोपमा मोरङ प्रहरीले व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ भट्टीमोडका ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, विराटनगर १७ रानीका ४२ वर्षीय जगदिश साह र विराटनगर १५ रानीका ३८ वर्षीय बैजनाथ साह छन् ।
पक्राउ परेका जगदिश व्यापारी हुन् । उनी र बैजनाथ साह मिलेर प्रविधिमा दख्खल राख्ने मुन्ना भन्ने सत्यजित साहको घरमा सट्टेबाजी खेलाउने क्रममा सोमबार राति पक्राउ परेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । मुन्ना भन्ने सत्यजित साहको घरमा मोबाईल र ल्यापटपमार्फत आइपिएल खेलको सट्टाबाजी भइरहेको विशेष सूचना प्रहरीलाई आएपछि घरमा छापा मारेको थियो । सट्टेवाजीलाई जुवा सरहको खेल मानिन्छ ।
प्रहरीले साहको साथबाट सट्टेबाजी खेलाउने ६० हजार रुपैयाँ पनि बरामद गरेको छ । ‘अहिले चलिरहेको आइपीएलमा अवैध रूपमा सट्टाबाजी गर्ने गिरोह सक्रिय भएको पाइयो,’ एसपी खड्काले भन्नुभयो, ‘यसमा अरू पनि संलग्न हुनसक्छन् । थप अनुसन्धान भइरहेको छ ।’
नेपालमा सट्टेबाजीको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय हुने गरेको यस क्षेत्रका जानकारहरू बताउँछन् । पक्राउ परेको गिरोहले खेलाउने सट्टेबाजीमा विराटनगरका नाम चलेका व्यापारीले बाजी लगाउने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतमा सुरु भइरहेको आईपीएलमा दैनिक विराटनगरमा लाखौंको हारजित हुने गरेको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी खड्काले सट्टेबाजी धन्दामा संलग्नहरूमाथि निगरानी गरिएको बताउनुभयो । प्रहरीको अध्ययन अनुसार विराटनगरमा ३–४ समूहले सट्टेबाजी धन्दा चलाइरहेको छ । तीमध्ये अहिले पक्राउ परेको नेटवर्कले चलाएको सट्टेबाजीमा थुप्रैले बाजी हारजित गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताउनुभयो ।
पक्राउ परेका समूहले विभिन्न एजेन्टमार्फत बाजी खेलाउँदै आएका छन् । सोही समूहका गिरोहलाई प्रहरीले दुई सातादेखि गरेको निगरानीपछि पक्राउ गरेको हो । उनीहरूले मोबाइलमा बाजीको रेट आदानप्रदान भएको एसएमएसहरू फेला परेको प्रहरीले जनाएको छ ।
आईपीएलको सट्टेबाजीमा ठूलो कारोबार हुने गरेको छ । यसअघि सो समूहले विराटनगरको होटेलमा बसेर सट्टेबाजी खेलाउँदै आएको थियो । अहिले कोरोना संक्रमणले होटलहरू बन्द रहेकोले घरमा बसेर खेलाउने गरेको पाइएको छ । संगठित गिरोहले बैंक, कलेज तथा व्यवसायी समूहमा एजेन्ट बनाएर बाजी खेलाउँदै आएको प्रहरीको भनाइ छ ।
प्रहरीले पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङमा जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।

