लोड हुँदैछ...

मेनु

बीपी प्रतिष्ठानमा अख्तियारको छानविन

बीपी प्रतिष्ठानमा अख्तियारको छानविन

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

कोरोना संक्रमण भएर आइसोलेसनमा बसिरहेका उपकुलपति ज्ञानेन्द्र गिरी प्रतिष्ठानको खरिद प्रक्रियालगायतमा विवादित बनिरहेको बेला अख्तियारले छानविन थालेको हो ।

गिरीले आइसोलेसनबाटै कर्मचारी नियुक्ति, सरुवा र विनाटेण्डर औषधि उपकरण खरिद गर्ने क्रम जारी राखेपछि अख्तियारले प्रतिष्ठानमा छानविन सुरु गरेको हो ।
आइसोलेसनमा बसेका गिरीले २५ जना हेल्परसहित सल्लाहकार नियुक्ति गरेका छन् भने खरिद र इन्जिनियरिङ शाखाका कर्मचारीहरुको सरुवा गरेका छन् । यस्तै प्रतिष्ठानमा आवश्यक औषधि उपकरण विनाटेण्डर खरिद गरिएको छ ।

प्रतिष्ठानमा गिरीकै संलग्नतामा अनियमितता भएको उजुरी आएपछि अख्तियारको इटहरीस्थित कार्यालयले अनुसन्धान थालेको हो । गिरीले प्रतिष्ठानको नियमावली विपरित काम गर्न थालेपछि परेको उजुरीको आधारमा छानविन प्रक्रियालाई अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

अख्तियारले प्रतिष्ठानमा नियम विपरित भएका सबै कामको बुँदागत रुपमा विवरण र कागजपत्र माग गरेको छ । आर्थिक रुपमा धरासायी बनेर प्रतिष्ठानले चिकित्सक र कर्मचारीलाई तलव खुवाउन समस्या भइरहेको बेला गिरीले आफू निकटका व्यक्तिलाई कर्मचारीमा धमाधम भर्ती गरेको भन्दै उनको विरोध भइरहेको छ ।

प्रतिष्ठानको कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले नियम विपरित उपकुलपति गिरीले कर्मचारीको सरुवा गरेको विषयमा रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीलाई भेटेर ध्यानाकर्षण गराएको बताउनुभयो । यस्तै एक सातादेखि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका सिनियर चिकित्सकहरुले प्रतिष्ठानको नेतृत्व गर्न गिरी असक्षम भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।