विराटनगर । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै मृत्यु भएको हो ।
उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धको बुधबार अपरान्ह १२ः३५ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर अस्पताल ल्याइएको थियो ।
वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको मृत्यु भएको हो । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ ।
बुधबार बिहान पनि अस्पतालमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर–२ का ५० वर्षीय संक्रमित पुरुषको पनि बुधबार बिहान ७ः३० बजेतिर मृत्यु भएको छ।
बुधबार बिहान नै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सप्तरीको राजविराजका संक्रमितको मृत्यु भएको थियो । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।