विराटनगर । कोरोना महामारीको कारण थलिएको पर्यटन व्यवसाय तत्काल तंग्रिने अवस्था नदेखिएको भन्दै विराटनगरको पहिलो स्तरीय होटल ‘होटल नमस्कार’ बन्द भएको छ ।
चार दशक अगाडि २०३७ सालमा युवराज श्रेष्ठले स्थापना गरेको विराटनगरको पहिलो स्तरीय होटल नमस्कार मंगलबारबाट औपचारिक रुपमा बन्द भएको हो ।
होटल संस्थापक श्रेष्ठको ७ वर्षअघि निधन भएपछि व्यवस्थापन छोरा युनेशराज श्रेष्ठले हेर्दै आएका थिए । कोरोना महामारीको कारण सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था भएको र विल्डिङ पनि पुरानो भएकोले बन्द गरेको श्रेष्ठले बताउनुभयो ।
महामारीका कारण व्यापार बन्द भएपछि तत्काललाई होटल बन्द गरिएको श्रेष्ठको भनाइ छ । अवस्था सुधार भयो भने फेरि सञ्चालन गर्ने व्यवस्थापन पक्षले जनाएको छ ।
कोरोना महामारीका कारण यसअघि विराटनगरको ठूलो र स्तरीय होटल जेनियल पनि बन्द भएको थियो । जेनियल भने सञ्चालन नहुनेगरी बन्द भएको हो ।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले ६ महिना लामो लकडाउन र निषेधाज्ञा अन्त्यसँगै भदौ १ गतेबाट होटल बजार खुला भएको छ । तर, ग्राहक नआउँदा होटलले सञ्चालन खर्च पनि उठाउन सकेका छैनन् ।