बीपीका उपकुलपति गिरीलाई बर्खास्त गर्न माग

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर चिकित्सकहरुले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गरेका छन् ।

गत बिहीबारदेखि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक चिकित्सक (फ्याकल्टी)हरुले आन्दोलनलाई निरन्तरता दिँदै न्युनतम मागहरु पनि पुरा गर्न चासो नदिने उपकुलपतिलाई बर्खास्त गर्न माग गरेका हुन् ।

फ्याकल्टीहरुको अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, बृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्नेलगायत माग गर्दै आन्दोलनमा छन् । प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले न्युनतम् मागसमेत पुरा गर्न चासो नदिने उपकुलपतिबाट प्रतिष्ठानको हितमा काम हुन नसक्ने देखिएकोले बर्खास्तीको माग गरेको बताउनुभयो ।

आन्दोलनमा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, सिनियर चिकित्सकहरु प्रा.डा.रविन मास्के, प्रा.डा.विक्रम प्रधान, प्रा.डा. नरेन्द्र भट्टलगायतले साथ दिएका छन् । मंगलबारको धर्नामा प्रा.डा.रविन मास्केले आन्दोलनमा उत्रने आफ्ना साथीहरुलाई प्रतिष्ठानको व्यवस्थापन पक्षबाट धम्की आएको भन्दै आपत्ती जनाउनुभयो ।

प्रतिष्ठानले माग पुरा नगरेको भन्दै भदौ १९ गते माग पत्र बुझाएका फ्याकल्टीहरुले गत बिहीबारबाट उपकुलपतिको कार्यालय अगाडि धर्ना दिइरहेका छन् । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले फ्याकल्टीहरुका माग जायज रहेपनि उपकुलपति आइसोलेसनमा रहेकाले समाधान दिन नसकेको बताउनुभयो ।

सिनियर चिकित्सकहरुले उपकुलपतिले जथाभावि गरेको नियुक्ति र सरुवा बढुवा खारेज गर्न पनि माग गरेका छन् । उपकुलपति गिरीले आइसोलेसनमै बसेका बेला कर्मचारीहरुको जथाभावि सरुवा र नियुक्ति गरेको भन्दै विरोध भइरहेको छ ।

प्रतिष्ठानकै खरिदमा भ्रष्टाचार मुद्दा खेपिरहेका व्यापारीसँग बिनाटेन्डर डेढ करोडको मेडिकल सामग्री खरिद गरेपछि गिरी थप विवादमा मुछिएका छन् ।

मङ्गलबार, १३ असोज, २०७७, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर