विराटनगर । चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको सिद्धार्थ बैंकको विराटनगर शाखा कार्यालय कुनै साबधानी र सतर्कताविना सञ्चालन भइरहेको गुनासो आएको छ ।

एक साताअघि बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएपनि बैंकले पूर्ण सेनिटाइजसमेत नगरी सञ्चालन गर्दा संक्रमण फैलने जोखिम बढेको भन्दै कमचारी र ग्राहकहरु पनि चिन्तित बनेका छन् ।

संक्रमण देखिएपछि बैंकमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरि कार्यालय सेनिटाइज गर्नुपर्ने हो । विराटनगरको मेनरोडमा रहेको सिद्धार्थ बैंकले भने कुनै साबधानी नअपनाएको कर्मचारीहरुको गुनासो छ ।

‘संक्रमण देखिएपछि अरुमा संक्रमण फैलन नदिन ‘डिसइन्फेक्ट’ गर्नलाई शिल गर्दै बैंकभित्र बाहिरी मानिसको आवतजवात केही समय रोक्नुपर्ने हो’ एक कर्मचारीले भने, ‘तर, निर्वाध रुपमा सञ्चालन भइरहेका कारण संक्रमण थप फैलनसक्ने जोखिम बढेको छ ।’

बैंकका प्रबन्धक कमल बस्नेतले भने संक्रमण देखिएपछि बैंकलाई हिमगिरी हाईजिनको टोली बोलाएर सेनिटाईज गरेपछि साबधानीसाथ सञ्चालन गरिएको जानकारी दिनुभएको छ । जोखिम कम गर्न सामाजिक दुरी कायम गरिएको र संक्रमणको संभावना रहेका कर्मचारीहरुलाई विदामा बस्न भनिएको उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले सुरक्षा सावधानी अपनाएर बैंक सञ्चालन नगरिएको भए अनुगमन गरिने बताउनुभयो । ‘संक्रमित भेटिएपछि बैंक तत्कालै शिल गरि सेनिटाइज गरिनुपर्ने हो’ उहाँले भन्नुभयो, ‘तर, त्यसो नगएरको भए बुझेर थप कदम चाल्नेछौं ।’